राजविराज, ३ जेठ । राष्ट्रिय जनता पार्टी जिल्ला कार्यसमिति सप्तरीद्वारा उप–प्रधान तथा गृहमन्त्री विमलेन्द्र निधीलाई बुधवार ज्ञापन–पत्र बुझाईएको छ ।
तेस्रो मधेस आन्दोलनमा गम्भीर घाइते भई वैशाख १५ गते राती मृत्यु भएका सप्तरीको मधवापुर–४ रघु साफीलाई राष्ट्रिय शहिद घोषणा गर्न उक्त पार्टीले माग गरेको हो । राजपा अध्यक्ष मण्डलका सप्तरी संयोजक सुनिल कुमार झासहितका सदस्यहरुले संयुक्त रुपमा गृहमन्त्री निधीलाई ज्ञापन–पत्र बुझाएका छन् ।
२०७२ मंसिर ५ गते भारदहमा प्रहरीको गोली लागेर दुवै आँखा गुमाएका ५४ वर्षिय साफीको ‘चलु राजमार्ग भरु राजमार्ग’ आन्दोलनका क्रममा राती राजमार्ग अवरुद्ध गराउने कार्यक्रममा साफीको प्रहरीको गोली लागेर दुवै आँखाको ज्योती गुमेको थियो । आँखामा गोली लागेर मानसिक सन्तुलन समेत क्षीण भईसकेको थियो । तेस्रो मधेश आन्दोलनका घाइते साफीलाई शहीद घोषणा गरी राहत स्वरुप क्षतीपुर्ति उपलव्ध गराउन राजपाले माग गरेको छ ।
यसैगरी गत वैशाख २ र जेठ १ गतेको भीषण हावाहुरीका कारण सप्तरी जिल्लामा व्यापक क्षति भएको भन्दै क्षतिको यथार्थ विवरण संकलन गराई पीडित परिवारलाई उचित क्षतिपूर्ति तथगा राहत उपलब्ध गराउन उक्त पार्टी ज्ञापनपत्रमार्फत गृहमन्त्री निधीको ध्यानाकर्षण गराएका छन् ।