• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
बुद्धको समयमा थिएन नेपाल

जयकृष्ण गोइत

कपिलवस्तुको उत्पतिका सम्बन्धमा विभिन्न प्रकारका कथाहरु प्रचलित भएको पाइन्छ । यस्तै कथाहरुमध्ये एउटा कथा दिग्घनिकाय र सुमङ्घल विलासिनी नामका प्रसिद्ध बौद्ध ग्रन्थमा उल्लेख गरिएको छ । यस ग्रन्थ अनुसार दशौं शताब्दी ईसापूर्व कौशल राज्यका राजा इक्ष्वाकुवंशी वोक्काक थिए । राजाले आफ्नी कान्छी रानीका राजकुमारलाई राज्य दिन जेठीपट्टिका चार राजकुमार तथा पाँच राजकुमारीहरुलाई राज्यबाट निर्वासित गरी दिए ।

Secret undisclosed location in the Terai region along the Indo-Nepal border –july 6 ,2009 – Jaya Krishna Goit, the underground leader of Janatantrik Terai Mukti Morcha -Goit faction (JTMM-G) talks about his demand for an independent soverign state in the Terai region of Nepal for the Madeshi ethnic population.He draws references from History books,Government gazettes,Indo-British treaties as well as current publications to support and justify his claim for a soverign Terai state for madeshi population independent of Nepal.He has gone underground as he fears for his life from the government forces of Nepal as well as the Maoists and other rival insurgent groups in the Terai region of Nepal.(Subhash Sharma for The National)

कौशल राज्यका यी निर्वासित राजकुमार तथा राजकुमारीहरु भौँतारिँदै सघन जङ्गलको माझमा कपिलमुनिले तपस्या गरेको स्थलनेर पुगेर रोकिए । कपिलमुनिले यिनीहरुको वृतान्त सुनेपछि केही समयसम्म आश्रममा नै रहन दिए । पछि कपिलमुनिले यिनीहरुलाई त्यहीं बस्ती बसाउन अनुमति दिए ।
यिनीहरुले त्यहाँको जङ्गल फाँडेर बस्ती बसाले । शाकवृक्ष फँडानी गरी बस्ती बसाउने जाति भएको हुनाले यस वंशको नाम त्यसै वृक्षको नामबाट शाक्य रहन गयो । कपिलमुनिको अनुमतिले बसाईएको बस्ती भएको हुनाले यसको नाम कपिलवस्तु रहन गयो । राजकुमार अल्कामुख शाक्य वंशको स्थापक राजा भए ।
छैठौं शताब्दि ई.पू.मा पूर्वमा गण्डकी नदी र पश्चिममा राप्ती नदी बीच शाक्य र कोलीय गरी दुई महत्वपूर्ण जनपद वा गणराज्य थिए । त्यसबेला कपिलवस्तुका निर्वाचित राजा शाक्यवंशी शुद्धोधन थिए । यिनको विहे कोलीया गणराज्यकी राजकुमारी मायादेवीसित भएको थियो ।
गर्भवती अवस्थामा समय नजिक आउँदा रीति अनुसार प्रसवकोलागि मायादेवीलाई माइती पठाउने व्यवस्था गरियो । ई.पू.५६३मा बैशाख पूर्णिमाको दिन केही दासी र सेनाको रेखदेखमा मायादेवी कोलीय राजधानी देवदहको लागि प्रस्थान गरिन् । तर कपिलवस्तुबाट लुम्बिनी जंगलमा पुग्दा मायादेवीलाई प्रसव पीडा भयो । दासीहरुले सुन्दर पुष्य युक्त रुख तल मायादेवीको विश्रामको व्यवस्था गरिन् । त्यही मायादेवीले एउटा दिव्य बालकको जन्म दिइन्, जसको नाउँ सिद्धार्थ राखियो । सात दिनपछि नै मायादेवी आफ्ना पुत्रलाई छाडी परलोक भइन । त्यसपछि यिनकी सानी आमा महाप्रजापति गौतमीले सिद्धार्थको पालन पोषण गरिन् । यसैले सिद्धार्थको नाउँ ‘गौतम’ पनि हुन गयो ।
वाल्यकालदेखि नै गौतमको ध्यान आध्यात्मिक चिंतनमा थियो । अल्पायुमै यिनको बिहे यशोधरासित भयो, जसबाट राहुल नामक एउटा पुत्र भयो । तर पारिवारिक जीवनमा यिनको मन लागिरहेको थिएन । यिनी मानिसको संसारिक दुख हेरेर द्रवित हुन्थे र यस्तो दुखको निवारणको उपाय सोच्न थाल्दथे ।
बृद्ध, रोगी, शव र सन्यासी हेर्नु सामान्य कुरा थियो । तर बौद्ध साहित्य अनुसार सिद्धार्थको जीवनमा यी चार दृश्यको ठूलो असर प¥यो । यसबाट उनी जीवनदर्शनबारे सोच्न बाध्य भए । यी दृश्यहरुबाट यिनको हृदयमा यस्तो असर प¥यो, जसबाट उनले यो शरीर, युवाअवस्था र संसारको सबै सुखलाई क्षनिक र सम्पूर्ण संसारलाई दुखमय हेर्न थाले । यस्तै चिन्तनले गर्दा २९ बर्षको उमेरमा अषाढ महिनाको पूर्णिमाको राति एक वर्षका छोरा राहुल, बुवा शुद्धोधन, पालनपोषण गर्ने आमा, पत्नी यशोधराका साथै राजपाठ समेत त्याग गरी सत्य र ज्ञानको खोजीको लागि प्रस्थान गरे अर्थात् गृहत्याग गरे । बौद्ध साहित्यमा गृहत्यागको यस घटनालाई ‘महाभिनिष्क्रमण’ भनिन्छ । सिद्धार्थले सन्यासी जीवन प्रारम्भ गरे ।
सात वर्षको अथक प्रयासपछि ३५ वर्षको उमेरमा बोधगयाको एउटा पीपलको रुख तल उनलाई ज्ञान प्राप्त भयो । त्यसवेला देखि उनी बुद्ध अर्थात् प्रज्ञावान भए । गौतम बुद्धले आफ्नो ज्ञानको प्रथम प्रवचन वाराणसीको सारनाथ नामक ठाउँमा गरे । उनको धर्म प्रचारको कार्यमा उँच–नीच, धनी–गरीब, स्त्री–पुरुष बीच कुनै भेदभाव थिएन । एउटा परम्परा अनुसार गौतम बुद्धको ८० वर्षको उमेरमा ४८३ ई.पू.मा कुशीनगर भन्ने ठाउँमा महानिर्वाण प्राप्त भयो ।
विश्व इतिहासमा ई.पू. छैठौं शताब्दीको महत्वपूर्ण प्रभाव रहेको छ । यो शताब्दी दार्शनिक चिन्तनकोलागि प्रसिद्ध छ । त्यसवेला जति पनि महान चिन्तक भए, त्यसमध्ये तराईमा जन्मेका गौतम बुद्धको विशिष्ट स्थान छ । त्यसवेलाका अन्य ऐतिहासिक व्यक्तित्वहरुले विश्वको यति बढी ध्यान आकृष्ट गर्न सकेनन्, जति तराईका धर्तीपुत्र गौतम बुद्धले गरे । उनले आफ्नो समयको बदलिंदो समाजको विश्लेषण गर्ने र मानव जातिको लागि एउटा स्थायी समाज दर्शन प्रदान गर्ने अत्यन्त गहन र व्यापक प्रयास गरे ।
कपिलवस्तु राज्यको सीमा
विभिन्न बौद्ध ग्रन्थहरुको आधारमा छैठौ. शताब्दी ई.पू.मा कपिलवस्तु राज्यको पूर्वमा रोहिणी नदी, पश्चिममा राप्ती नदी, उत्तरमा हिमालय र दक्षिणमा पावा, कुशीनगरसम्म फैलिएको थियो । (प्रा.डा.सुरेन्द्र के.सी.–प्राचीन तथा मध्यकालीन नेपाल पृ.३४, प्रा.डा.श्रीरामप्रसाद उपाध्याय.–नेपालको प्राचीन तथा मध्यकालीन इतिहास, परिमार्जित पाँचौ संस्करण,पृ.३४) । जुनवेला कपिलवस्तु राज्यमा शाक्यवंशी राजाहरु थिए, त्यसवेला नेपालको उद्भव भएको थिएन । यदि उद्भव भएको हुन्थ्यो भने नेपाली इतिहासकारहरुले इतिहासहरुमा कपिलवस्तुको उत्तरमा नेपाल लेखेको हुन्थे । यसबाट प्रमाणित हुन छ कि बुद्धको समयमा थिएन नेपाल ।
कपिलवस्तुको पतन
कौशलका राजा विरुद्धकले कपिलवस्तुमाथि आक्रमण गरी आफ्नो आफ्नो कौशल राज्यमा मिलाए । प्रसेनजितको समयमा कौशल राज्य अत्यधिक साम्राज्यवादी भएको थियो. । भनिन्छ उनले मल्लहरुको गणराज्यमाथि आफ्नो अधिकार कायम गरेका थिए । कौशलका राजा विरुद्धकका बुवा प्रसेनजितले अनेकौं विहे गरेका थिए ।
उनले शाक्य राजकुमारी सित विहे गर्ने प्रस्ताव पठाएका थिए । शाक्यहरुले छल गरी दासी पुत्री वासवखस्तिया (मल्लिका)लाई शाक्य कुमारी भनी विहे गरि दिए । त्यस दासी कन्याबाट विरुद्धक नामक पुत्र भयो । विरुद्धक ठूलो भएपछि मामाघर कपिलवस्तु आउँदा शाक्यहरुले शुद्र जस्तो व्यवहार गरे । विरुद्धकले त्यसैवेला यस अपमानको प्रतिरोध लिने प्रण गरे । प्रसेनजितको मृत्युपछि विरुद्धकले शाक्यसित प्रतिरोध लिने निश्चय गरे । (प्रो.दिनानाथ वर्मा–प्रचीन भारत का इतिहास, पृ.१४२) ।
विरुद्धकले सीमा नदी रोहिणी (बाणगंगा)को पानीको वाँडफाँड सम्बन्धमा विवाद उठाए । विरुद्धकलाई पानीको वहानामा कपिलवस्तुमाथि आक्रमण गर्न तीन पल्ट गौतम बुद्धले रोके । चौथो पल्ट बुद्धको जोर चलेन विरुद्धकले कपिलवस्तुमाथि आक्रमण गरी सतहत्तर हजार मानिसको हत्या गरी पराजीत गरेर आफ्नो राज्य कौशलमा मिलाए (प्रो.श्रीरामप्रसाद उपाध्याय–नेपालको प्राचीन तथा मध्यकालीन इतिहास, पृ.३८) । शान्तिनायक बुद्धलाई पनि जीवनको उत्तराद्र्धमा यस्तो दुःखद घटना हेर्नु प¥यो (डा.सुरेन्द्र के.सी.–नेपालको इतिहास र ऐतिहासिक परम्परा, पृ.१९५)। कौशलमा कपिलवस्तुको शाक्य राज्य पनि सामेल थियो (रामशरण शर्मा–प्रारम्भिक भारत का परिचय, पृ.१४९) ।
यसपछि विरुद्धकले कोलिया गणराज्यमाथि पनि आक्रमण गरी आफ्नो राज्य भित्र पारे । कोलियामाथिको आक्रमणबाट रोहिणी (वाणगंगा)नदीको पानीको बाँडफाँड बहाना मात्रै रहेको र वास्तवमा कौशलको आक्रमणकारी र विस्तारवादी नीतिकै कारण आक्रमण गरिएको पुष्टि हुन्छ (डा.सुरेन्द्र के.सी.–नेपालको इतिहास र ऐतिहासिक परम्परा, पृ.१९५) । यसप्रकार कपिलवस्तु र कोलिया गणराज्य कौशलको मातहतमा गएपछि कौशल राज्यको सीमा उत्तरमा हिमालयसम्म फैल्न गयो । कपिलवस्तु र कोलिया गणराज्य कौशल राज्यमा मिलाएको बेला पनि नेपालको उद्भव भएको थिएन ।
(लेखक जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारीका केन्द्रीय अध्यक्ष हुन् ।)