जयकृष्ण गोइत
कपिलवस्तुको उत्पतिका सम्बन्धमा विभिन्न प्रकारका कथाहरु प्रचलित भएको पाइन्छ । यस्तै कथाहरुमध्ये एउटा कथा दिग्घनिकाय र सुमङ्घल विलासिनी नामका प्रसिद्ध बौद्ध ग्रन्थमा उल्लेख गरिएको छ । यस ग्रन्थ अनुसार दशौं शताब्दी ईसापूर्व कौशल राज्यका राजा इक्ष्वाकुवंशी वोक्काक थिए । राजाले आफ्नी कान्छी रानीका राजकुमारलाई राज्य दिन जेठीपट्टिका चार राजकुमार तथा पाँच राजकुमारीहरुलाई राज्यबाट निर्वासित गरी दिए ।

कौशल राज्यका यी निर्वासित राजकुमार तथा राजकुमारीहरु भौँतारिँदै सघन जङ्गलको माझमा कपिलमुनिले तपस्या गरेको स्थलनेर पुगेर रोकिए । कपिलमुनिले यिनीहरुको वृतान्त सुनेपछि केही समयसम्म आश्रममा नै रहन दिए । पछि कपिलमुनिले यिनीहरुलाई त्यहीं बस्ती बसाउन अनुमति दिए ।
यिनीहरुले त्यहाँको जङ्गल फाँडेर बस्ती बसाले । शाकवृक्ष फँडानी गरी बस्ती बसाउने जाति भएको हुनाले यस वंशको नाम त्यसै वृक्षको नामबाट शाक्य रहन गयो । कपिलमुनिको अनुमतिले बसाईएको बस्ती भएको हुनाले यसको नाम कपिलवस्तु रहन गयो । राजकुमार अल्कामुख शाक्य वंशको स्थापक राजा भए ।
छैठौं शताब्दि ई.पू.मा पूर्वमा गण्डकी नदी र पश्चिममा राप्ती नदी बीच शाक्य र कोलीय गरी दुई महत्वपूर्ण जनपद वा गणराज्य थिए । त्यसबेला कपिलवस्तुका निर्वाचित राजा शाक्यवंशी शुद्धोधन थिए । यिनको विहे कोलीया गणराज्यकी राजकुमारी मायादेवीसित भएको थियो ।
गर्भवती अवस्थामा समय नजिक आउँदा रीति अनुसार प्रसवकोलागि मायादेवीलाई माइती पठाउने व्यवस्था गरियो । ई.पू.५६३मा बैशाख पूर्णिमाको दिन केही दासी र सेनाको रेखदेखमा मायादेवी कोलीय राजधानी देवदहको लागि प्रस्थान गरिन् । तर कपिलवस्तुबाट लुम्बिनी जंगलमा पुग्दा मायादेवीलाई प्रसव पीडा भयो । दासीहरुले सुन्दर पुष्य युक्त रुख तल मायादेवीको विश्रामको व्यवस्था गरिन् । त्यही मायादेवीले एउटा दिव्य बालकको जन्म दिइन्, जसको नाउँ सिद्धार्थ राखियो । सात दिनपछि नै मायादेवी आफ्ना पुत्रलाई छाडी परलोक भइन । त्यसपछि यिनकी सानी आमा महाप्रजापति गौतमीले सिद्धार्थको पालन पोषण गरिन् । यसैले सिद्धार्थको नाउँ ‘गौतम’ पनि हुन गयो ।
वाल्यकालदेखि नै गौतमको ध्यान आध्यात्मिक चिंतनमा थियो । अल्पायुमै यिनको बिहे यशोधरासित भयो, जसबाट राहुल नामक एउटा पुत्र भयो । तर पारिवारिक जीवनमा यिनको मन लागिरहेको थिएन । यिनी मानिसको संसारिक दुख हेरेर द्रवित हुन्थे र यस्तो दुखको निवारणको उपाय सोच्न थाल्दथे ।
बृद्ध, रोगी, शव र सन्यासी हेर्नु सामान्य कुरा थियो । तर बौद्ध साहित्य अनुसार सिद्धार्थको जीवनमा यी चार दृश्यको ठूलो असर प¥यो । यसबाट उनी जीवनदर्शनबारे सोच्न बाध्य भए । यी दृश्यहरुबाट यिनको हृदयमा यस्तो असर प¥यो, जसबाट उनले यो शरीर, युवाअवस्था र संसारको सबै सुखलाई क्षनिक र सम्पूर्ण संसारलाई दुखमय हेर्न थाले । यस्तै चिन्तनले गर्दा २९ बर्षको उमेरमा अषाढ महिनाको पूर्णिमाको राति एक वर्षका छोरा राहुल, बुवा शुद्धोधन, पालनपोषण गर्ने आमा, पत्नी यशोधराका साथै राजपाठ समेत त्याग गरी सत्य र ज्ञानको खोजीको लागि प्रस्थान गरे अर्थात् गृहत्याग गरे । बौद्ध साहित्यमा गृहत्यागको यस घटनालाई ‘महाभिनिष्क्रमण’ भनिन्छ । सिद्धार्थले सन्यासी जीवन प्रारम्भ गरे । 
सात वर्षको अथक प्रयासपछि ३५ वर्षको उमेरमा बोधगयाको एउटा पीपलको रुख तल उनलाई ज्ञान प्राप्त भयो । त्यसवेला देखि उनी बुद्ध अर्थात् प्रज्ञावान भए । गौतम बुद्धले आफ्नो ज्ञानको प्रथम प्रवचन वाराणसीको सारनाथ नामक ठाउँमा गरे । उनको धर्म प्रचारको कार्यमा उँच–नीच, धनी–गरीब, स्त्री–पुरुष बीच कुनै भेदभाव थिएन । एउटा परम्परा अनुसार गौतम बुद्धको ८० वर्षको उमेरमा ४८३ ई.पू.मा कुशीनगर भन्ने ठाउँमा महानिर्वाण प्राप्त भयो ।
विश्व इतिहासमा ई.पू. छैठौं शताब्दीको महत्वपूर्ण प्रभाव रहेको छ । यो शताब्दी दार्शनिक चिन्तनकोलागि प्रसिद्ध छ । त्यसवेला जति पनि महान चिन्तक भए, त्यसमध्ये तराईमा जन्मेका गौतम बुद्धको विशिष्ट स्थान छ । त्यसवेलाका अन्य ऐतिहासिक व्यक्तित्वहरुले विश्वको यति बढी ध्यान आकृष्ट गर्न सकेनन्, जति तराईका धर्तीपुत्र गौतम बुद्धले गरे । उनले आफ्नो समयको बदलिंदो समाजको विश्लेषण गर्ने र मानव जातिको लागि एउटा स्थायी समाज दर्शन प्रदान गर्ने अत्यन्त गहन र व्यापक प्रयास गरे ।
कपिलवस्तु राज्यको सीमा
विभिन्न बौद्ध ग्रन्थहरुको आधारमा छैठौ. शताब्दी ई.पू.मा कपिलवस्तु राज्यको पूर्वमा रोहिणी नदी, पश्चिममा राप्ती नदी, उत्तरमा हिमालय र दक्षिणमा पावा, कुशीनगरसम्म फैलिएको थियो । (प्रा.डा.सुरेन्द्र के.सी.–प्राचीन तथा मध्यकालीन नेपाल पृ.३४, प्रा.डा.श्रीरामप्रसाद उपाध्याय.–नेपालको प्राचीन तथा मध्यकालीन इतिहास, परिमार्जित पाँचौ संस्करण,पृ.३४) । जुनवेला कपिलवस्तु राज्यमा शाक्यवंशी राजाहरु थिए, त्यसवेला नेपालको उद्भव भएको थिएन । यदि उद्भव भएको हुन्थ्यो भने नेपाली इतिहासकारहरुले इतिहासहरुमा कपिलवस्तुको उत्तरमा नेपाल लेखेको हुन्थे । यसबाट प्रमाणित हुन छ कि बुद्धको समयमा थिएन नेपाल ।
कपिलवस्तुको पतन
कौशलका राजा विरुद्धकले कपिलवस्तुमाथि आक्रमण गरी आफ्नो आफ्नो कौशल राज्यमा मिलाए । प्रसेनजितको समयमा कौशल राज्य अत्यधिक साम्राज्यवादी भएको थियो. । भनिन्छ उनले मल्लहरुको गणराज्यमाथि आफ्नो अधिकार कायम गरेका थिए । कौशलका राजा विरुद्धकका बुवा प्रसेनजितले अनेकौं विहे गरेका थिए ।
उनले शाक्य राजकुमारी सित विहे गर्ने प्रस्ताव पठाएका थिए । शाक्यहरुले छल गरी दासी पुत्री वासवखस्तिया (मल्लिका)लाई शाक्य कुमारी भनी विहे गरि दिए । त्यस दासी कन्याबाट विरुद्धक नामक पुत्र भयो । विरुद्धक ठूलो भएपछि मामाघर कपिलवस्तु आउँदा शाक्यहरुले शुद्र जस्तो व्यवहार गरे । विरुद्धकले त्यसैवेला यस अपमानको प्रतिरोध लिने प्रण गरे । प्रसेनजितको मृत्युपछि विरुद्धकले शाक्यसित प्रतिरोध लिने निश्चय गरे । (प्रो.दिनानाथ वर्मा–प्रचीन भारत का इतिहास, पृ.१४२) । 
विरुद्धकले सीमा नदी रोहिणी (बाणगंगा)को पानीको वाँडफाँड सम्बन्धमा विवाद उठाए । विरुद्धकलाई पानीको वहानामा कपिलवस्तुमाथि आक्रमण गर्न तीन पल्ट गौतम बुद्धले रोके । चौथो पल्ट बुद्धको जोर चलेन विरुद्धकले कपिलवस्तुमाथि आक्रमण गरी सतहत्तर हजार मानिसको हत्या गरी पराजीत गरेर आफ्नो राज्य कौशलमा मिलाए (प्रो.श्रीरामप्रसाद उपाध्याय–नेपालको प्राचीन तथा मध्यकालीन इतिहास, पृ.३८) । शान्तिनायक बुद्धलाई पनि जीवनको उत्तराद्र्धमा यस्तो दुःखद घटना हेर्नु प¥यो (डा.सुरेन्द्र के.सी.–नेपालको इतिहास र ऐतिहासिक परम्परा, पृ.१९५)। कौशलमा कपिलवस्तुको शाक्य राज्य पनि सामेल थियो (रामशरण शर्मा–प्रारम्भिक भारत का परिचय, पृ.१४९) ।
यसपछि विरुद्धकले कोलिया गणराज्यमाथि पनि आक्रमण गरी आफ्नो राज्य भित्र पारे । कोलियामाथिको आक्रमणबाट रोहिणी (वाणगंगा)नदीको पानीको बाँडफाँड बहाना मात्रै रहेको र वास्तवमा कौशलको आक्रमणकारी र विस्तारवादी नीतिकै कारण आक्रमण गरिएको पुष्टि हुन्छ (डा.सुरेन्द्र के.सी.–नेपालको इतिहास र ऐतिहासिक परम्परा, पृ.१९५) । यसप्रकार कपिलवस्तु र कोलिया गणराज्य कौशलको मातहतमा गएपछि कौशल राज्यको सीमा उत्तरमा हिमालयसम्म फैल्न गयो । कपिलवस्तु र कोलिया गणराज्य कौशल राज्यमा मिलाएको बेला पनि नेपालको उद्भव भएको थिएन ।
(लेखक जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारीका केन्द्रीय अध्यक्ष हुन् ।)