चन्दन रौनियार । काठमाडौं, १६ बैशाख । नवगठित राष्ट्रिय जनता पार्टी नेपालका नेता मनिष सुमनले संविधान संशोधन पास नभएसम्म चुनावमा भाग नलिने बताएका छन् ।
शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजा गरेको साक्षात्कारमा बोल्दै उनले यस्तो कुरा बताएका हुन् । ‘बैशाख ३१ र जेठ ३१ गते दुवै मितिमा चुनाव हुन सक्दैन’ सुमनले भने ‘अहिले धेरै गञ्जागोल छ, हामी त संशोधन प्रस्ताव पारित नभएसम्म कुनैपनि निर्वाचनमा भाग लिँदैनौं ।’
उनले निर्वाचन आयोगले कमिसनको खेलमा हतारहतार गरेर मतपत्र छापेको समेत आरोप लगाए । उनले भने,‘उम्मेदवारी दर्ता भएकै छैन, तर मतपत्र हतार गरेर छाप्ने काम भयो, यो सबै कमिशनखोर हो ।’ उनले मौसमी र प्राविधिक कुराहरुको तयारीको लागि पनि चुनाव कार्तिकसम्मकोलागि सार्नुपर्ने बताए ।
उनले माघ ७ गतेसम्म तीन तहकै निर्वाचन सम्पन्न गर्नुपर्ने भएकोले अहिले पनि केही हतार नभएको प्रतिक्रिया दिए । उनले तीन तहकै निर्वाचन कार्तिकमा गर्न सकिने बताए । संविधान जारी गर्दा हतारिँदाको परिणाम अहिले भोगिरहेका दलहरुले निर्वाचन गर्नपनि हतार गर्न नहुनेबारे बताउँदै उनले बैशाख ३१ मा चुनाव हुनै नसक्ने दावी गरे ।