• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

अभिलेख

उपचारको क्रममा मृत्यु भएका आन्दोलनकारी साफीलाई शहिद घोषणा गर्न माग

उपचारको क्रममा मृत्यु भएका आन्दोलनकारी साफीलाई शहिद घोषणा गर्न माग

राजविराज, १६ वैशाख । तेस्रो मधेस आन्दोलनमा गम्भीर घाइते भई शुक्रवार राती मृत्यु भएका सप्तरीको मधवापुर–४ रघु साफीलाई राष्ट्रिय शहिद घोषणा गर्न संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले माग गरेको छ ।

मोर्चाका सप्तरी संयोजक दिनेश कुमार यादवले शनिवार एक प्रेस विज्ञप्ति जारी गर्दै साफीलाई अविलम्व शहिद घोषणा गर्न माग गरेका हुन् । विज्ञप्ति मार्फत हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति सम्वेदना प्रकट समेत गरेको छ । तेस्रो मधेश आन्दोलनका घाइते साफीलाई शहीद घोषणा गरी राहत स्वरुप क्षतीपुर्ति उपलव्ध गराउन सरकारसँग मोर्चा सप्तरीले जोडदार माग गरेको छ ।
२०७२ मंसिर ५ गते भारदहमा प्रहरीको गोली लागेर दुवै आँखा गुमाएका ५४ वर्षिय साफीको शुक्रवार राती ११ बजेको समयमा मृत्यु भएको हो । ‘चलु राजमार्ग भरु राजमार्ग’ आन्दोलनका क्रममा राती राजमार्ग अवरुद्ध गराउने कार्यक्रममा सहभागी साफी प्रहरीको गोली लागेर दुवै आँखाको ज्योती गुमाउनुका साथै मानसिक सन्तुलन समेत क्षीण भईसकेको थियो ।
कुनै पनि दलको कार्यकर्ता नरहेका उनी स्वस्फूर्त रुपमा आन्दोलनमा सहभागी भएका थिए । अधिकारप्राप्तिको आन्दोलनमा लागेका उनलाई घटनालगत्तै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । देब्रे आँखा पूर्ण रुपमा फुटिसकेका उनलाई करिब एक महिना आइसियुमा राखेर उपचार गरिएको थियो ।
अस्पतालबाट डिस्चार्ज भएपछि गाउँमै बस्दैआएका आएका उनको आँखामा इनफेक्शन सम्वन्धि समस्या देखिएको थियो । उनलाई घरको आर्थिक अवस्था समेत जर्जर रहेका कारण थप उपचार तथा भरणपोषणमा समेत समस्या रहँदैआएको थियो ।
मधेश आन्दोलनका सहयात्रीको निधनको खबर पाएपछि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका केन्द्रीय नेताहरु नवलकिशोर साह, शम्भु झा, शैलेन्द्र प्रसाद साह, जयप्रकाश ठाकुरसमेत मधवापुर पुगेका छन् । मृतक रघु साफीलाई पोष्टमार्टमकालागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको जनाईएको छ । आइतवार पोष्टमार्टम पश्चात साफीको शवयात्रा समेत निकालिने तयारी भईरहेको मोर्चा श्रोतले जनाएको छ ।