राजविराज, १६ वैशाख । तेस्रो मधेस आन्दोलनको क्रममा २०७२ मंसिर ५ गते राती प्रहरीको गोली लागेर दुवै आँखा गुमाएका सप्तरीको मधवापुर–४ रघु साफीको मृत्यु भएको छ ।
भारदहमा प्रहरीको गोली लागेर दुवै आँखा गुमाएका ५४ वर्षिय साफीको शुक्रवार राती मृत्यु भएको हो । ‘चलु राजमार्ग भरु राजमार्ग’ आन्दोलनका क्रममा राती राजमार्ग अवरुद्ध गराउने कार्यक्रममा सहभागी साफी प्रहरीको गोली लागेर दुवै आँखाको ज्योती गुमाउनुका साथै मानसिक सन्तुलन समेत क्षीण भईसकेको थियो ।
कुनै पनि दलको कार्यकर्ता नरहेका उनी स्वस्फूर्त रुपमा आन्दोलनमा सहभागी भएका थिए । अधिकारप्राप्तिको आन्दोलनमा लागेका उनलाई घटनालगत्तै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । देब्रे आँखा पूर्ण रुपमा फुटिसकेका उनलाई करिब एक महिना आइसियुमा राखेर उपचार गरिएको थियो ।
अस्पतालबाट डिस्चार्ज भएपछि गाउँमै बस्दैआएका आएका उनको आँखामा इनफेक्शन सम्वन्धि समस्या देखिएको थियो । उनलाई घरको आर्थिक अवस्था समेत जर्जर रहेका कारण थप उपचार तथा भरणपोषणमा समेत समस्या रहँदैआएको थियो ।
मधेश आन्दोलनका सहयात्रीको निधनको खबर पाएपछि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका केन्द्रीय नेताहरु नवलकिशोर साह, शम्भु झा, शैलेन्द्र प्रसाद साह, जयप्रकाश ठाकुरलगायतका नेताहरु मधवापुर पुगेका छन् । मृतक रघु साफीलाई पोष्टमार्टमकालागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको जनाईएको छ ।
तस्विरहरुः शैलेन्द्र प्रसाद साह/अवधेश कुमार झा/रामनारायण विश्वास/रोहित राई

