• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मनोरञ्जन

अलविदा नायक विनोद खन्नाः परिवर्तनको एउटा कथा

अलविदा नायक विनोद खन्नाः परिवर्तनको एउटा कथा
अश्विनी कोइराला

अश्विनी कोइराला
सन् १९८४ ताकाको कुरा हो, नेपालका एक धनाढ्य व्यक्ति (पदमसिंह राणा) कामको शिलशिलामा अमेरिका पुगेका रहेछन् । राणा अमेरिका पुग्दा त्यहाँका अखवारहरुमा अनौठा समाचार देखेर छक्क परेछन् ।
भएछ के भने, चर्चित आध्यात्मिक गुरु रजनिसले अमेरिकी सरकारलाई भद्र अवज्ञा गरिरहेका रहेछन् । भारतमा जन्मे हुर्केका र संसारलाई आफ्नो तर्क र विचारले छक्क पारेका ओशो रजनिसका कारण अमेरिकी राष्ट्रपति रोनाल्ड रेगन ठूलो तनाबमा परेका रहेछन् । अमेरिका पुगेर आफ्ना भक्तहरुको सहयोगमा रजनिसपूरम नामक सहर बसालेर उनले संसारलाई कम्युनको नौलो दर्शन दिइरहेका रहेछन् । अखवारहरुले ओशोका कुराहरु सनसनी बनाएर छाप्दा रहेछन् ।
नेपाली भए पनि राणाको घर देहरादुन पनि हो । नेपाल उतिसारो नचिन्ने हुनाले उनले अमेरिकामा आफू भारतबाट आएको भन्दा रहेछन् । भारतबाट आएको भन्ने वित्तिकै सबैले अमेरिका आएर रजनिसले के गर्न खोजेको भनेर चासो राख्दा रहेछन् । सबैले चासो दिएपछि राणालाई पनि गुलावी सहर बनेको रजनिसपुरम पुग्न मन लागेछ ।
उनी त्यहाँ पुग्दा पूरै सहर ओशो सन्यासीले भरिएको रहेछ । सन्यासी भेषमा हजारौं हजार नरनारीहरु आ–आफ्नो काममा व्यस्त थिए । कोही खेतीपाती गर्दै थिए । कोही बन्द–व्यापारमा व्यस्त थिए । कोही सफाइ गर्दै थिए । १९ देखि ४० वर्षबीचका युवा–युवतीले सम्पूर्ण सहर भरिएको देख्दा उनी छक्क परेछन् र रजनिस आश्रमतिर लागेछन् ।
रजनिसको आश्रममा सफाइमा मानिस दत्तचित्त भएर लागिरहेका थिए । प्रवचनको कार्यक्रम सुरु हुन थालेपछि सहरका सबै मानिस आश्रममा भेला हुँदा रहेछन् । त्यसका लागि ठूलो तयारी चलिरहेको रहेछ । सफाइ हेर्दै राणा ट्वाइलेट तिर लागेछन् । ट्वाइलेटमा पनि सफाइ चलिरहेको थियो । उनको आँखा ट्वाइलेट सफा गर्दै गरेको एउटा व्यक्तिमा गएर अडियो । उनले ती व्यक्तिलाई ध्यान दिएर हेरे । ती चिनेका व्यक्ति झैं लागे तर उनी को थिए, ठम्याउन सकेनन् ।