रौतहट, १४ वैशाख । रौतहट जिल्ला अदालतको आदेशमा साधारण तारेखमा रिहा भए लगत्तै स्वतन्त्र मधेश गठबन्धनका केन्द्रीय संयोजक डा.सीके राउतलाई प्रहरीले पुनः पक्राउ गरेको छ ।
जिल्ला अदालत रौतहटले उनलाई साधारण तारेखमा छाड्न आदेश दिए पनि अदालत परिसरमै रहेका प्रहरीले उनलाई तत्कालै पक्राउ गरेको हो । राज्य विप्लव र सङ्गठित अपराध सम्वन्धि मुद्दामा उनलाई पुनः पक्राउ गरेको स्वतन्त्र मधेश गठबन्धनले जनाएको छ । जिल्ला न्यायाधीस लक्ष्मीराम ढुंगानाको इजलासले साधारण तारेखमा रिहा गर्ने आदेश दिएको थियो ।
सप्तरी, सिरहा, धनुषा, रुपन्देहीलगायतका जिल्लाहरुबाट पुगेका वकिलहरुले बहस गरेका थिए । डा.राउतको तर्फबाट ३७ जना वकिलहरुले बहस गरेका थिए ।
डा. राउतलाई विहीवारै साझ बाँके जिल्लामा समेत राज्य विप्लव र सङ्गठित अपराध सम्वन्धि मुद्दामा आवश्यक कारबाहीका लागि बाँके लगिएको गठबन्धन श्रोतले जनाएको छ । पछिल्लो पटक जनकपुरबाट पक्राउ परेका डा. राउतलाई सिरहा प्रहरी हिरासतमा राखिएको थियो ।
सिरहा जिल्ला अदालतबाट रिहा भए पनि पुनः पक्राउ गरी रुपन्देही लगिएको थियो । रुपन्देहीबाट समेत रिहा भए पनि तत्कालै पक्राउ गरी रौतहट प्रहरी हिरासतमा राखिएको थियो । रौतहट प्रहरीले समेत विहीवार साँझ रिहा भए लगत्तै अदालत परिसरबाटै पक्राउ गरी राज्य विप्लव र संगठित अपराध सम्वन्धि मुद्दामा बाँके लगिएको छ ।