राजविराज, १३ वैशाख । मारवाडि महिला मञ्च राजविराजले वुधवार स्थानीय जैन श्वेताम्वर तेरापंथी सभा भवनमा एक कार्यक्रम आयोजना गरी वृद्धवृद्धालाई दोसल्ला ओढाई सम्मान गरेको छ ।
सम्मानित ब्यक्तित्वलाई प्रमुख अतिथि जनकपुर उच्च अदालत राजविराज वेन्चकी न्यायाधिस वविता उप्रेतीले दोसल्ला ओढाई सम्मान गरेकी हुन् । आमाको मुख हेर्ने दिनको अवसर पारेर आयोजना गरिएको सम्मान कार्यक्रममा नगरका २१ जना ज्येष्ठ महिला सम्मानित भएका छन् ।
सम्मानित हुनेहरुमा ७० वर्षिय विजयलक्ष्मी तातेड, ७२ वर्षिय राजुदेवी सुरानादेखि ९५ वर्षिया सुमनदेवी जोशीलगायतका छन् । मञ्चले दिर्घजीवन विताइरहेका ज्येष्ठ महिलाको खोजी गरी सम्मान गरेको छ । ‘हमारी संस्कृति हमारी धरोहर’ भन्ने नाराका साथ मनाईएको कार्यक्रममा सहभागी वक्ताहरुले जेष्ठ नागरिक प्रति घर, समाज तथा राष्ट्रबाटै सम्मानजनक ब्यवहार गरिनुपर्नेमा जोड दिए ।
अनुराधा जोशीको अध्यक्षतामा आयोजित समारोहमा प्रमुख अतिथि न्यायाधीश उप्रेतीका साथै नागरिक समाज सप्तरीका अध्यक्ष थानसिंह भन्साली, जेष्ठ नागरिक संघ सप्तरीका अध्यक्ष शिवहरि प्रसाद भट्टराई, प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झा, मारवाडि महिला मञ्चकी केन्द्रीय सचिव मञ्जु शारदा, मञ्चकी संस्थापक अध्यक्ष कमला भन्साली, सल्लाहकार गोविन्द कावरा, युवा मञ्चका अध्यक्ष अमृत सञ्चेती, अग्रवाल सेवा समितिका अध्यक्ष मनोज अग्रवाल, मारवाडि सेवा समितिका अध्यक्ष सुरेश रुँगटा लगायतले जेष्ठ नागरिकलाई आदर र सम्मान दिनुपर्नेमा जोड दिएका छन् । कार्यक्रम सञ्चालन प्रगति गुनैचाले गरिन् ।