• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

प्रहरीको कुटाईबाट मोर्चाका चार नेता घाइते, राजविराज, भारदह र कञ्चनपुरमा चक्काजाम

प्रहरीको कुटाईबाट मोर्चाका चार नेता घाइते, राजविराज, भारदह र कञ्चनपुरमा चक्काजाम

राजविराज, ९ वैशाख । निर्वाचन शिक्षा कार्यक्रम विथोल्ने क्रममा शनिवार सप्तरी प्रहरीको कुटपीटबाट संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका चार जना नेता घाइते भएका छन् ।
राजविराज स्थित केशो अनिरुद्धवती माध्यमिक विद्यालयमा आयोजित कार्यक्रम विथोल्ने क्रममा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका विनोद यादव, आशोलाल यादव, मनोज मेहतर र शम्भु यादवलाई प्रहरीले निर्घात कुटपीट गरेका हुन् । कुटपीटबाट घाइते भएका चारै जनालाई राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा प्राथमिक उपचार पश्चात थप उपचारकोलागि धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान भर्ना गरिएको छ । निर्वाचन शिक्षा कार्यक्रम चलिरहेको अवस्थामा प्रचार–प्रसार सामग्री समेत उनीहरु च्यातेका छन् ।
मोर्चाका नेताहरुलाई प्रहरी नियन्त्रणमा लिएर निर्घात कुटपीट गरेको भन्दै सप्तरी मोर्चाले राजविराज स्थित जिल्ला प्रहरी कार्यालय अगाडि टायर बालेर एक घण्टा चक्का जाम गरिएको थियो । यसैगरी भारदह र कञ्चनपुरमा समेत एक घण्टा चक्काजाम गरिएको छ ।