राजविराज, ८ वैशाख । स्वतन्त्र मधेस गठबन्धनका केन्द्रीय संयोजक डा. सीके राउतमाथि प्रहरी हिरासतमा आक्रमण भएको खुलासा भएको छ ।
स्वतन्त्र मधेश गठबन्धनद्वारा प्रेषित विज्ञप्ति अनुसार राज्य विरुद्ध साङ्गठनिक अपराध मुद्दामा रुपन्देही प्रहरी हिरासतमा रहेका डा. राउतमाथि डी.एस.पी. बेल बहादुर पाण्डेको सक्रियतामा चरम यातना दिईएको छ । कुटपीटबाट घाइते राउतलाई लुम्बिनी अञ्चल अस्पताल बुटवलमा ईलाज गराईएको जनाईएको छ ।
डा. राउतलाई बयानकालागि बुटवल ईलाका प्रहरी कार्यालयबाट बैशाख ७ गते भैरहवा अदालत लगिएको थियो । बयान सकिएपछि विहीवार जिल्ला प्रहरी कार्यालय भैरहवामा राखिएको थियो । सोही क्रममा डी. एस. पी. बेल बहादुर पाण्डेको आदेशमा प्रहरी निरीक्षक भीमलाल सुदामीद्वारा २१ अपराधी रहेको हीरासत कक्षमा नियोजित रुपमा राखी सांघातिक आक्रमण गराई बेहोसी अवस्थामा पुर्याईएको थियो । बेहोसी अवस्थामा राती ११ बजे लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचार गराई पुनः भैरहवा हिरासतमा राखिएको थियो ।
यसैगरी स्वतन्त्र मधेश गठबन्धनका केन्द्रीय प्रवक्ता अब्दुल खानको मोहम्मदपुर–४ स्थितको घरमा पाँचौ पटक छापामारी गरिएको जनाईएको छ । खानका अनुसार परिवारजनलाई ज्यान मार्नेसम्मको धम्की दिईएको थियो ।