• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

अभिलेख

सप्तरीका पत्रकारहरुद्वारा विरोधका थप कार्यक्रम घोषणा

सप्तरीका पत्रकारहरुद्वारा विरोधका थप कार्यक्रम घोषणा

राजविराज, ४ वैशाख । विगत ६ दिनदेखि अनिश्चिकालीन धर्नामा बसेका पत्रकारहरुको माग सम्वोधन गर्न नेपाल पत्रकार महासंघ गम्भीर नभएको भन्दै सप्तरीका पत्रकारहरुले विरोधका थप कार्यक्रम घोषणा गरेको छ ।
नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष, पूर्व पदाधिकारी, केन्द्रीय पार्षद, कार्यसमितिका पदाधिकारीहरुका साथै विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरुको छलफलबाट माग सम्वोधन नभएसम्म विरोध कार्यक्रमलाई निरन्तरता दिने निष्कर्ष निकालेको छ । सप्तरी जिल्लाबाट प्रकाशित दैनिक तथा साप्ताहिकलगायतका छापामाध्यमहरुको सम्पादकीयमा ब्याकग्राउण्ड राखेर ‘सप्तरीका पत्रकारहरुको माग अविलम्व सम्वोधन गर’ नारा निरन्तर लेख्ने, जिल्लाबाट सञ्चालित एफएमहरुबाट समाचार प्रशारण अघि ‘सप्तरीका पत्रकारहरुको माग अविलम्व सम्वोधन गर’ भनी नारा वाचन गरेर समाचार वाचन गर्ने सर्वसम्मत निर्णय भएको छ । सप्तरीका पत्रकारहरुले राखेको माग सम्वोधन नभएसम्म निरन्तरता दिन आग्रह गरिएको छ ।
यस अतिरिक्त जिल्लामा रहेका पत्रकार सम्वद्ध सङ्गठनहरुले आफ्ना केन्द्रीय समितिलाई नेपाल पत्रकार महासंघ सप्तरी शाखामा भईरहेको हैकमवादी शैली एवम् क्रियाकलापको बारेमा जानकारी गराउने तथा माग पुरा गराउन आ–आफ्नो स्थानबाट दवाब सिर्जना गर्न भनी सप्तरीका पत्रकारहरुले आग्रह गरेको छ । यसै गरी सामाजिक सञ्जाल मार्फत समेत दवाव सिर्जना गर्न प्रोफाइल पिक्चरमा समेत कालो अक्षरमा ‘सप्तरीका पत्रकारहरुको माग अविलम्व सम्वोधन गर’ भनी लेखिएको इमेज व्यापक बनाउन आग्रह गरिएको छ ।
विधान सम्मत सप्तरी शाखामा भएका कामकाजलाई अनुमोदन गर्नुपर्ने, प्रक्रिया पूरा गरेका सबै सदस्यहरुको नवीकरण गरिनुपर्ने, विवाद समाधान गरी अविलम्ब शाखा सप्तरीको अधिवेशन गराउनुपर्ने र निरंकुश तरिकाले बन्द गरिएको सप्तरी शाखाका बैंक खाताहरु फुकुवा गर्नुपर्ने माग पत्रकारहरुले राखेका छन् ।