राजविराज, ३ वैशाख । नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयमा अनिश्चितकालीन धर्नामा बसेका पत्रकारहरुको माग तीन दिन भित्र सम्वोधन नगरे मङ्गलवारदेखि मधेशी पत्रकार संघले आन्दोलन गर्ने चेतावनी दिएको छ ।
संघका केन्द्रीय सचिव वीपी साहले आइतवार एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएका हुन् । सप्तरीका पत्रकारहरुले राखेको विभिन्न चार बुँदे माग नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले सम्बोधन नगरेको खण्डमा बुधबारदेखि मधेशी पत्रकार संघसहित अन्य संगठनहरुसँग सहकार्य गरेर धर्नामा बस्न बाध्य हुने साहद्वारा प्रेषित विज्ञप्तिमा जनाईएको छ ।
‘धर्ना बसेको पाँच दिन हुँदासमेत नेपाल पत्रकार महासंघको नेतृत्वले कुनै सुनवाई गरेको छन, सप्तरीका पत्रकारहरुको माग नेपाल पत्रकार महासंघको विधान सम्वत एवं प्रक्रिया बमोजिम रहेको देखिन्छ’ प्रेस विज्ञप्तिमा अगाडि भनिएको छ ‘तर केन्द्रीय नेतृत्वले स्वजातीय एवम् राजनीतिक आस्थाका आधारमा जिल्ला शाखा चलाउन खोजेको यस घटनाले प्रष्ट भएको मधेशी पत्रकार संघको ठहर रहेको छ ।’
नेपाल पत्रकार महासंघलाई नेपालका सम्पूर्ण पत्रकारहरुको साँझा छाता संगठन भएको महसुस गराउँदै आन्दोलनरत पत्रकारहरुको माग सम्बोधन गर्न संघले आग्रह गरेको छ । तीन दिनभित्र अर्थात मंगलबारसम्म नेपाल पत्रकार महासंघ केन्द्रले सप्तरीका पत्रकारहरुको माग सम्बोधन नगरेको खण्डमा बुधबारदेखि मधेशी पत्रकार संघसहित अन्य संगठनहरुसँग सहकार्य गरेर धर्नामा बस्न बाध्य हुने जनाईएको छ । नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालय तथा सरोकारबाला अन्य निकायहरुको काम कारवाहीमा अवरोध भएको खण्डमा त्यसको सम्पूर्ण जिम्मेबारी महासंघ नेतृत्वकै हुनेसमेत मधेशी पत्रकार संघका केन्द्रीय सचिव साहद्वारा प्रेषित विज्ञप्तिमा जनाईएको छ ।