सिरहा, ३१ चैत । राज्य विरूद्ध सङ्गठित अपराध मुद्दामा प्रहरीद्वारा गत माघ २० गते पक्राउ परेका स्वतन्त्र मधेश गठबन्धनका केन्द्रीय संयोजक डा. सीके राउत विहीवार रिहा भए लगत्तै फेरी पक्राउ परेका छन् ।
सिरहा जिल्ला अदालतको आदेशमा रिहा भए लगत्तै उनलाई प्रहरी अदालत परिसरबाटै करिब ५ बजेको समयमा पक्राउ गरेका हुन् । गत माघ २० गते डा. राउत सहित ११ जना स्वराजी उपर लगाईएको मुद्दामा चैत २१ गतेदेखि बयान र गरमागरम बहस पश्चात पक्राउ परेको ७० दिन पश्चात अदालतले डा. राउत सहित सबैलाई धरौटीमा रिहा गर्ने आदेश दिएको थियो । उक्त आदेशमा डा. राउतबाट १० हजार तथा अन्य स्वराजीबाट जनही ५ हजार रुपैयाँ धरौटी माग गरिएको थियो । अदालतको आदेश अनुसार धरौटी रकम समेत समयमा बुझाएर बाहिर व्यापक संख्यामा स्वराजीहरुले डा. राउतलाई स्वागत गर्न आतुर थिए । यद्यपी डा. राउतलाई अदालत परिसरको मूल गेट नजिकैबाट प्रहरीले पुनः पक्राउ गरेको छ भने अन्य स्वराजी भने रिहा भएका छन् । डा. राउतलाई रुपन्देही लगिएको जनाईएको छ ।
सिरहा प्रहरीका सहायक प्रहरी निरीक्षक राजेन्द्र प्रसाद यादव नेतृत्वको टोलीले डा. राउतलाई अदालत भित्रै नियन्त्रितमा लिई रूपन्देही प्रहरीको गिरफ्तारी पूर्जी थमाउँदै ईजलाशमै हथकड़ी लगाएर फेरी गिरफ्तार गरिएको गठबन्धनले जनाएको छ । अदालतको आदेशमा धरौटी रकम बुझाउँदा नेपाल सरकारद्वारा राज्य विरूद्ध संगठित अपराधमा ईजलासभित्रै हथकड़ी लगाएर पुनः गिरफ्तार गरिएकोप्रति गठबन्धनका सह–संयोजक कैलाश महतोले प्रेस विज्ञप्तिमार्फत गम्भीर आपत्ति जनाएका छन् ।
न्यायिक निर्णयलाई पूर्णतः पालना गर्न हुन आग्रह गर्दै नेपाली राज्य र प्रहरीको ज्यादती बन्द गर्न आवाज उठाउँदै संविधान, लोकतन्त्र, कानून, अदालत र अन्तराष्ट्रिय मानव अधिकार समेतको सम्मान गर्न नेपाल सरकार र उसका प्रहरी प्रशासनमा अनुरोध गर्दै एउटै प्रकृतिको मुद्दामा पटक पटक गिरफ्तार गरी व्यक्ति, समूह र संस्थाको मौलिक अधिकारलाई कुण्ठित हुनबाट रोक्नका निम्ति पहल गरिदिनु हुन सम्पूर्ण राजनीतिक दल, नागरिक समाज लगायत सम्पूर्ण मानव अधिकारवादी संघ संगठन, बुद्धिजिवी, कानून व्यवसायी, यूवा र विद्यार्थीहरुमा महतोले आग्रह गरेका छन् ।