राजविराज, ३१ चैत । सप्तरीका पत्रकारहरुले नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा जारी तालाबन्दी गर्दै जारी राखेको आन्दोलनप्रति ऐक्यवद्धता जनाउने क्रमले तिब्रता पाएको छ ।
नेपाल पत्रकार महासंघ शाखा सप्तरीमा अवैधानिक हस्तक्षेप बन्द गर्न र विधान सम्मत ढङ्गले जिल्ला अधिवेशन सम्पन्न गर्न माँग राख्दै सप्तरीका पत्रकारहरु बुधवारदेखि महासंघको केन्द्रिय कार्यालय काठमाण्डौमा अनिश्चितकालीन धर्नालाई निरन्तरता दिँदैआएका हुन् । महासंघ सप्तरीका कार्यवाहक अध्यक्ष श्रवण कुमार देवको नेतृत्वमा विभिन्न सञ्चारमाध्यममा आवद्ध क्रियाशिल पत्रकारहरु महासंघको कार्यालयमा अनिश्चितकालिन तालाबन्दीसहित धर्नामा बसेका छन् ।विधान सम्मत सप्तरी शाखामा भएका कामकाजलाई अनुमोदन गर्नुपर्ने, प्रक्रिया पूरा गरेका सबै सदस्यहरुको नवीकरण गरिनुपर्ने, विवाद समाधान गरी अविलम्ब शाखा सप्तरीको अधिवेशन गराउनुपर्ने र निरंकुश तरिकाले बन्द गरिएको सप्तरी शाखाका बैंक खाताहरु फुकुवा गर्नुपर्ने माग उनीहरुले माग राखेका छन् । स्थानीयस्तरमा पटक–आन्दोलन गर्दा पनि केन्द्रले बेवास्ता गरेपछि काठमाण्डौ स्थित केन्द्रीय कार्यालयमा तालाबन्दी गर्दै जारी राखेको आन्दोलनप्रति सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, संघीय समाजवादी फोरम नेपालका केन्द्रीय उपाध्यक्ष लालबाबु राउत, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष विष्णु निष्ठुरी, राष्ट्रिय मानव अधिकार आयोगकी प्रवक्ता मोहना अन्सारी, नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य अशोक कुमार मण्डल ‘अमर’, राष्ट्रिय मधेश समाजवादी पार्टीका केन्द्रीय प्रवक्ता केशव झा, नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देल, महासचिव अजय शिवाकोटी, संघीय प्रेस फोरमका केन्द्रीय अध्यक्ष गोबिन्द छन्त्याल, मधेशी पत्रकार संघका उपाध्यक्षमा अमरेन्द्र यादव, कान्तिपुर दैनिकका वरिष्ठ सहायक उप–सम्पादक दिनेश यादव, अधिकारकर्मी दिपेन्द्र झा लगायतले आन्दोलनप्रति ऐक्यवद्धता जनाएका छन् ।
स्थानियस्तरमा विभिन्न चरणमा आन्दोलन गर्दै आए पनि महासंघको केन्द्रीय समिती र क्षेत्रिय समितिले जिम्मेवारीपना नदेखाएपछि सप्तरीका पत्रकारहरु बाध्य भएर राजधानी केन्द्रित आन्दोलनलाई निरन्तरता दिएका छन् । सप्तरीलाई कार्यक्षेत्र बनाएर सक्रिय पत्रकारिता गर्दै आएका पत्रकारहरुले केन्द्रीय कार्यालयको मुलगेटमा तालाबन्दी गर्दै धर्नामा बस्दैआएका छन् । 



