काठमाण्डौ ३० चैत । नेपाल पत्रकार महासंघ सप्तरीमा अवैधानिक हस्तक्षेप बन्द गर्न र बिधान सम्मत ढङ्गले जिल्ला अधिबेशन सम्पन्न गर्न माँग राखी सप्तरीका पत्रकारहरु महासंघको केन्द्रीय कार्यालयमा बुधबारदेखी तालाबन्दी गर्दै धर्ना बसेका छन् ।
नेपाल पत्रकार महासंघ सप्तरीका कार्यवाहक अध्यक्ष श्रवण कुमार देवको नेतृत्वमा विभिन्न सञ्चार माध्यममा आवद्ध क्रियाशिल पत्रकारहरु महासंको कार्यालयमा अनिश्चितकालिन तालाबन्दी सहित धर्ना बसेका हुन । स्थानियस्तरमा विभिन्न चरणमा आन्दोलन गर्दे आए पनि महासंघको केन्द्रीय समिती र क्षेत्रिय समितीले जिम्मेवारीपना नदेखाएपछि सप्तरीका पत्रकारहरु राजधानी केन्द्रित आन्दोलन सुरु गरेका छन् ।
महासंघ केन्द्रिय कार्यालयमा सप्तरीका पत्रकारहरुले तालाबन्दी गर्न खोजेपछि केन्द्रीय कार्यालयका कर्मचारीहरुले केहीबेर रोक्न खोजेका थिए । तर पत्रकारहरुले महासंघ केन्द्रीय कार्यालय अगाडि नारावाजीसहित प्रदर्शन चर्काएपछि केन्द्रीय कार्यालयका कर्मचारीहरु बाहिर निस्केका थिए ।
लगतै केन्द्रिय कार्यालयको मुलगेटमा तालाबन्दी गर्दे धर्ना सुरु भएको थियो । धर्नामा कार्यवाहक अध्यक्ष देव, सह–सचिव सुधा देव, कार्य समिती सदस्यहरु भुषण सिंह, चन्दन यादव, बृजमान तामाङ, राज कुमार पासवान बसेका छन । नेपाल पत्रकार महासंघ सप्तरीका सल्लाहकार जितेन्द्र खड्का, प्रेस यूनियनका केन्द्रीय सदस्य अवधेश कुमार झा, प्रेस सेन्टरका केन्द्रीय उपाध्यक्ष देवराम यादव, जिल्ला अध्यक्ष गोपाल प्रसाद गुप्ता, प्रेस यूनियन सप्तरीका कार्यवाहक अध्यक्ष राम नारायण विश्वास, संघीय प्रेस फोरम नेपालका केन्द्रीय सदस्य बैद्यनाथ यादव, सप्तरीका सचिव जितेन्द्र कुमार झा, कोषाध्यक्ष धर्मपाल राउत, पत्रकार माला कर्ण, कृष्ण कुमार मण्डल लगायतका धर्नामा बसेका छन् ।
माँग संबोधन नभएसम्म धर्ना जारी राख्ने महासंघ सप्तरीका कार्यवाहक अध्यक्ष देवले जानकारी दिएका छन् । नेपाल पत्रकार महासंघ सप्तरीमा बहुमत कार्यसमितीले गरेको निर्णय, दुई तिहाई भन्दा बढी सदस्यहरुको निर्णय तथा पुर्व सभापतिहरुको सुझाव समेतलाई लत्याउदै महासंघको केन्द्रीय समितीले एकलौटी रुपमा अनाधिकृत तवरले हस्तक्षेप गर्न खोजेकाले बाध्य भएर आन्दोलनमा उत्रनु परेको महासंघ सप्तरीका सल्लाहकार जितेन्द्र खडगाले बताएका छन् । ‘पत्रकार महासंघलाई राजनैतिक दलको भातृ संगठनको रुपमा वनाउन खोजियो’नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य अवधेशकुमार झाले भने, ‘पत्रकार महासंघ कुनै दल बिशेषको भातृ संगठन होइन्, नेपाली पत्रकारको साझा थलोको रुपमा बिकसित हुनुपर्ने मागका साथ हामी राजधानी केन्द्रित आन्दोलन सुरु गरेका हौ ।’