राजविराज, २९ चैत । राष्ट्रिय मधेश समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष शरतसिंह भण्डारीले मधेशी जनतामाथिको विभेद कायम रहेपछि विद्रोह स्वाभाविक भएको र त्यसको समुचित सम्वोधन नभए बिखण्डन हुनु स्वाभाविक भएको बताएका छन् ।
राजविराज स्थित नेपाल पत्रकार महासंघ सप्तरीको सभाकक्षमा मङ्गलवार आयोजित पत्रकार सम्मेलनमा बोेल्दै उनले यस्तो कुरा बताएका हुन् । मधेशी जनतामाथि अढाई सय वर्षदेखि विभेद कायम रहँदैआएको तथा संघर्ष हालसम्म चल्दैआएको चर्चा गर्दै उनले भने ‘देश विखण्डनको पक्षमा म छुईन तर विभेद पछि विद्रोह हुनु स्वाभाविक हो र यदी विद्रोहका स्वरलाई सम्वोधन गरिएन भने विद्रोह पछि विखण्डन हुनु स्वाभाविक हो ।’ आफूलाई राष्ट्रवादी भनाउँदाहरुलाई यदी विखण्डनको चिन्ता छ भने विभेदको सम्वोधन विकल्प नरहेको नेता भण्डारीले तर्क गरे ।
स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा. सीके राउतलाई हिरासतमा राखेर नेपालको संविधानमा उल्लेख भएको वाक र अभिव्यक्ति स्वतन्त्रताको घोर उल्लंघन भएको उनले बताए । पञ्चायती शासनकालमा पनि यो संविधान मान्दिन भन्नेलाई केही हदसम्म छुट थियो तर अहिलेको अवस्थामा मैले यो संविधान मान्दिन भनेपछि थुन्न पाईन्छ त ? यदी मधेशका २२ जिल्लाका जनताले यो संविधान मान्दिन भनेपछि के हुन्छ ? संविधान संशोधन नभएसम्म स्थानीय तहको निर्वाचनको औचित्य नरहने दावी गर्दै बन्दुकको बलमा चुनाव गराउन खोजिए यसपछिको अवस्था अकल्पनीय हुने नेता भण्डारीले बताए ।
मधेशीलगायत शोषित, उत्पीडित समुदायको असन्तुष्टिलाई सम्वोधन नभएसम्म देशले दुई सय वर्षमा पनि निकास पाउन नसक्ने दावी गर्दै भने ‘हाम्रो माग पुरा नभएसम्म देशले निकास पाउँदैन, माग सम्वोधन गर्नुमै सबैको कल्याण हुनेछ । जनताले राज्यमा आफ्नो प्रतिनीधित्व भएको अनुभूती नपाएसम्म देशले गति लिन नसक्ने नेता भण्डारीले बताए । ‘राज्यमा मेरो प्रतिनीधित्व छ भने कुराको अनुभूती नभएसम्म देशमा आन्दोलन रोकिनेवाला छैन’ उनले भने ‘नीति निर्माण गर्न कलम, नीति निर्माण गर्न कोष र कार्तुसमा समानुपातिक प्रतिनीधित्व चाहिएको छ ।’
आफू रक्षामन्त्री रहँदा नेपाली सेनामा मधेशी समुदायबाट १० हजारको सामुहिक प्रवेशको कुरा आफूले उठाएकै कारण मन्त्री परिषद्मा मधेशवादी दलकै प्रतिनीधित्व रहेको अवस्थामा आफूलाई कार्वाही गरेको प्रसङ्ग चर्चा गर्दै उक्त समयमा आफूले जायज कुरा उठाएकोमा अहिले पनि गर्व लाग्ने गरेको उनले बताए । ‘मैले जायज कुरा भन्दा माफी माग्न भन्यो, मैले माफी मागिन किनभने मैले मधेशी जनताको पक्षमा बोलेको थिए, मलाई मन्त्री पदबाट हटाईएको इतिहासलाई जनताले विस्मृतीमा लिनुभएन’ रामसपा अध्यक्ष भण्डारी अगाडि भने ‘संशोधन प्रस्तावको विषयमा हामीलाई औपचारिक जानकारी गराईएको छैन तर हाम्रो माग सम्वोधन हुनेमा आशावादी छु ।’
पत्रकार सम्मेलनमा राष्ट्रिय मधेश समाजवादी पार्टीका केन्द्रीय उपाध्यक्ष शेखरकुमार सिंह, महासचिव एवम् प्रवक्ता केशव झा, केन्द्रीय सचिव गजेन्द्र कुमार मण्डल, केन्द्रीय सदस्य वीरेन्द्र कुमार साह, जिल्ला अध्यक्ष सतिश कुमार सिंहलगायतका नेताहरुको समेत उपस्थिति थियो ।