• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

पाथीभरा देवीद्वारा लक्षचण्डी महायज्ञ उद्घाटन

पाथीभरा देवीद्वारा लक्षचण्डी महायज्ञ उद्घाटन

राजविराज, २८ चैत्र । सप्तरीको छिन्नमस्तामा अवस्थित प्रसिद्ध छिन्नमस्ता शक्तिपीठ प्राङ्गणमा सोमवारदेखि १० दिवसीय लक्ष चण्डी रुद्रमहायज्ञ शुभारम्भ भएको छ ।
मानव कल्याणार्थ, देशमा शान्ति एवम् सद्भावको कामना गर्दै लक्षचण्डी रुद्र महायज्ञ शुभारम्भ भएको हो । ‘जीउँदो देवी’ को रुपमा चिनिने जगत जननी पाथिभरा देवी माताले उक्त महायज्ञको उद्घाटन गरेकी छिन् ।
शक्तिपीठदेखि करिब सय मिटर पूर्व–दक्षिणमा ४० हजार वर्गफिटमा बनाइएको विशाल मण्डपमा महायज्ञ शुभारम्भ भएको छ । यज्ञशालाको हवनकुण्डमा अग्नी प्रज्जवलन र पुजापाठ गरी प्रमुख अतिथि पाथिभारा देवी माताले महायज्ञको उद्घाटन गरेकी छिन् । महायज्ञकालागि निर्मित यज्ञशालामा नेपाल तथा भारतका आचार्य एवम् विद्वान पण्डितद्वारा पुजापाठ, हवन, श्रीभद्भागवत एवम् देवी भागवत कथा वाचन लगायतका धार्मिक कार्यक्रम शुरु गरिएको छ । महायज्ञमा ३ हजार ५ सय पंडित आउने भनिए पनि विविध कारणवश संख्यामा केही कमी रहेको बताईएको छ । महायज्ञमा भारत, हरिद्वारका चारै पीठका आचार्यहरु समेत सहभागी भएको पीठाधीश महाकान्त ठाकुरले जनाएका छन् ।
लक्षचण्डी महायज्ञ नेपालमा पहिलो पटक तथा विश्वमै पाँचौ भएको जनाईएको छ । मन्दिर परिसरमा आवश्यक सुरक्षाकर्मी परिचालन गरिएको छ भने मन्दिर समितिले समेत दुई सय स्वयमसेवक परिचालन गरेको आयोजक समितिले जनाएको छ ।