राजविराज, २७ चैत । आगामी चैत २९ गतेसम्म केन्द्रले विवाद समाधान गरी अधिवेशनको वातावरण नबनाए नेपाल पत्रकार महासंघ जिल्ला कार्यसमिति सप्तरीले केन्द्रीय कार्यालय काठमाण्डौमा धर्ना बस्ने निर्णय गरेको छ ।
महासंघ सप्तरीका कार्यवाहक अध्यक्ष श्रवणकुमार देव, सह–सचिव सुधा देव, कोषाध्यक्ष मनोज माझी, सदस्यहरु भुषण सिंह, चन्दन यादव, बृजमान तामाङ्ग र राजकुमार पासवानसमेतको आइतवार बसेको बैठकले यस्तो निर्णय गरेको हो । कार्यसमितिको बैठकले महासंघ भित्रको सम्पूर्ण विवादको अन्त्य गरी अधिवेसनको वातावरण मिलाउन केन्द्रीय कार्यालयसँग आग्रह गर्ने निर्णय गरेको छ ।
पूर्व अध्यक्ष तथा पार्षदहरुको समेत सहभागितामा बसेको बैठकले केन्द्रले नै शाखा तथा प्रतिष्ठानहरुको बैशाख ७ गतेभित्र अधिवेसन गरिसक्नुपर्ने निर्णय गरे पनि सप्तरीमा विवादको समाधान गर्न नचाहेको ठहर गरेको छ । महासंघले आफ्ना सम्पूर्ण सदस्यहरुको नामावली र नवीकरण वापत लाग्ने शुल्क तोकेको समयसिमा भित्रै महासंघ केन्द्रको खाता रहेको बैंक अफ काठमाण्डुमा जम्मा गरिसकेर सम्पूर्ण प्रकृया पूरा गर्दा समेत व्यक्तिवादी सोंचका कारण महासंघ केन्द्रिय समितिका पदाधिकारीले सप्तरीका समग्र पत्रकारलाई बिना कारण दुःख दिन खोजेको बैठकले ठहर गरेको छ । बैठकले सप्तरीमा केन्द्रले नै सृजना गरेको विवाद अबिलम्ब समाधान गर्न समेत आग्रह गरेको छ ।