वर्दीवास, २७ चैत । नेपाल शिक्षक संघ २ नम्वर प्रदेशको महोत्तरीको वर्दीवासमा आइतवार सम्पन्न बैठकले संविधान संशोधन पछि मात्र स्थानीय निकायको निर्वाचनमा जान माग गरेको छ ।
प्रदेश संयोजक गङ्गा प्रसाद यादवको अध्यक्षतामा सम्पन्न बैठकले यस्तो माग अघि सारेका हुन् । मधेश लगायत देशका विभिन्न स्थानहरुमा आन्दोलनरत पक्षले अघि सारेका असन्तुष्टिलाई संविधान संशोधन गरेपछि मात्र स्थानीय निकायको चुनावमा जान आग्रह गर्दै महासंघको केन्द्रीय समितिसँग पहलकालागि आग्रह गरेको बैठकमा सहभागी नेपाल शिक्षक संघ सप्तरीका अध्यक्ष प्रशुराम यादवले जानकारी दिएका छन् ।
उक्त बैठकले अस्थायी शिक्षकहरुको समस्या अविलम्व समाधानकालागि पहल गर्न, विद्यालय कर्मचारी, वालविकास सहयोगी कार्यकर्ताहरुको समस्या समाधान गर्न प्रदेश बैठकले माग गरेको छ । संघको राष्ट्रिय कार्य समितिको बैठक आगामी चैत २९ गते बस्नलागेकोले २ नम्वर प्रदेशबाट आफूहरुले निर्णय गरेर कार्यान्वयनकालागि पहल गर्न केन्द्रको ध्यानाकर्षण गराईएको संघका सप्तरी अध्यक्ष यादवले जानकारी दिएका छन् ।