राजविराज, २५ चैत । सप्तरीको मलेकपुर गाउँ विकास समितिको वडा नम्वर–५ खुरहुरिया स्थित रामजानकी मन्दिर प्राङ्गणमा शुक्रवारदेखि नौ कुण्डीय विष्णु महायज्ञ सञ्चालन भएको छ ।
महायज्ञको एक कार्यक्रमका बिच सप्तरी क्षेत्र नम्वर–३ का सांसद एवम् निवर्तमान सिंचाई मन्त्री उमेश कुमार यादवले औपचारिक रुपमा शुभारम्भ गरेका हुन् । उनले यज्ञमा मन्त्रोच्चारण गर्दै नौ कुण्डीय विष्णु महायज्ञको उद्घाटन गरेका छन् । उक्त अवसरमा मधेशी जन अधिकार फोरम लोकतान्त्रिककी केन्द्रीय सदस्य बिन्दु यादव समेतको विशेष उपस्थिति रहेको थियो । महायज्ञको मुख्य आचार्यमा पंडित रामकुमार शास्त्री रहेका छन् ।
महन्थ मोती दास बैरागीले दिएको जानकारी अनुसार शुक्ल कामदा एकादशी शुक्र दिन सिद्वियोगमा विहान ११ बजेदेखि महायज्ञ सञ्चालन भएको छ । श्री रामचरित्र मानस पाठ एवं प्रवचन (नमाह) समेत आयोजना भईरहेको तथा विसर्जन एवं प्रसाद ग्रहण कार्यक्रम २०७४ बैशाख २ गते हुने उनले बताए । उनका अनुसार विशाल भण्डारा सन्त सम्मेलन (१११ मण्डल) वैशाख ५ र ६ गते हुनेछ । महायज्ञको मुख्य आकर्षणको रुपमा ५२ अवतार मूर्ती, रामलीला एवम् नेपाल तथा भारतका विशिष्ठ विद्वानहरुद्वारा प्रवचन समेतको आयोजना गरिएको मलेकपुर गाविसका पूर्व अध्यक्ष मधुकर यादवले जानकारी दिए ।