• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

अभिलेख

बहुआयामिक व्यक्तित्व स्व. रामचन्द्र झाको १२औं स्मृति दिवस मनाईयो

बहुआयामिक व्यक्तित्व स्व. रामचन्द्र झाको १२औं स्मृति दिवस मनाईयो

राजविराज, २१ चैत । सप्तरी जिल्लाका वहुमुखी व्यक्तित्व स्व. रामचन्द्र झाको १२औं स्मृति दिवस सोमवार एक कार्यक्रमको आयोजना गरी मनाईयो ।
स्व. रामचन्द्र झा स्मृति प्रतिष्ठानद्वारा पब्लिक विन्देश्वरी माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा वक्ताहरुले पूर्व प्रधानाध्यापक झाको व्यक्तित्व एवम् कृतित्वबारे चर्चा गरे । ट्रष्टका संस्थापक संरक्षक सरोज कुमारी झाको अध्यक्षतामा आयोजित कार्यक्रममा वक्ताहरुले स्व. झाले सप्तरी जिल्लाका साथै देशको शिक्षा, कला–संस्कृति, खेलकुद्, स्काउट, वातावरण, समाजसेवालगायतका क्षेत्रमा पुर्याएको योगदान अविस्मरणीय रहेको बताए । उनले पुर्याएको योगदानको कदर गर्दै ट्रष्टलाई समृद्ध बनाएर विभिन्न सामाजिक गतिविधिहरु सञ्चालन गर्नुपर्नेमा कार्यक्रमका वक्ताहरुले जोड दिए ।
स्मृति दिवसका अवसरमा पब्लिक विन्देश्वरी माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापकहरु नथुनी दास, हरिनारायण देव, मैथिल महासंघ नेपालका अध्यक्ष विष्णु कुमार मण्डल, मैथिली साहित्य परिषद्का अध्यक्ष शुभचन्द्र झा, समाजसेवी हितनारायण लाल दास, नेपाल प्याव्सनका केन्द्रीय उपाध्यक्ष अनिल झा, नेपाल निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनका जिल्ला अध्यक्ष अजय कुमार झा, प्रधानाध्यापक अरुणकुमार झा, स्व. झाका सहकर्मी जामुन यादव, शिक्षक मञ्जु श्रेष्ठ, ट्रष्टका उपाध्यक्ष हरिराम जोशीलगायतले स्व. झाको व्यक्तित्व एवम् कृतित्वबारे चर्चा गरे । कार्यक्रम सञ्चालन ट्रष्टका सदस्य गुञ्जन झाले गरे । विद्यालय परिसरमा रहेको स्व. झाको शालिकमा माल्यार्पण गरिएको छ ।
स्व. झाको निधन २०६१ चैत २१ गते निधन भएको थियो । उनी पब्लिक विन्देश्वरी माध्यमिक विद्यालयमा निरन्तर तीस वर्षसम्म प्रधानाध्यापक, सप्तरी जिल्ला खेलकुद विकास समितिका अध्यक्ष, सगरमाथा खेलकुद समितिको अध्यक्ष, सप्तरी जिल्ला सांस्कृतिक मञ्चका संस्थापक संयोजक, नेपाल स्काउटका जिल्ला, क्षेत्रीय तथा राष्ट्रिय स्तरका क्रमशः अध्यक्ष, सदस्यसमेत रहेका थिए । उनले गोरखा दक्षिणबाहुसहित विभिन्न मान पदवीबाट अलंकृत भएका थिए ।
यसैगरी ट्रष्टको पुनर्गठन सोमवारै गरिएको छ । समितिको संरक्षकमा सरोज कुमारी झा, अध्यक्ष नथुनी दास, उपाध्यक्ष हरिराम जोशी, दोस्रो उपाध्यक्षमा मीना ठाकुर, सचिवमा प्रयाग यादव, सह–सचिवमा अनिल झा र तुलानाथ माझी र कोषाध्यक्षमा हेमन्त कुमार झा रहेका छन् । सदस्यमा रोहित लाल दास, मञ्जु श्रेष्ठ, निरज झा, लक्ष्मण झा, सुशील सेवा परियार, गुञ्जन झा, सूर्यनारायण यादव र अरुण कुमार झा रहेका छन् । सल्लाहकारमा शिवहरि प्रसाद भट्टराई, वैद्यनाथ झा र हितनारायण लाल दास रहेका छन् ।