राजविराज, २१ चैत । नेपाली कांग्रेसका युवा नेता चन्द्र केसीले मधेशको सम्वेदनशीलतालाई नेताहरुले अब पनि उपेक्षा गरे मधेश नेपालभित्र नरहन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।
मधेशमा जारी अधिकारप्राप्तिको आन्दोलनलाई नजिकबाट नियाल्दैआएका केसीले सोमवार राजविराजमा पत्रकार सम्मेलन आयोजना गर्दै यस्तो चिन्ता व्यक्त गरेका हुन् । मधेशको भावनालाई नेताहरुले बेवास्ता गर्दैआएका कारण विद्रोह एवम् विखण्डनका आवाजहरु सङ्गठित एवम् मजबुत हुँदै गएको बताउँदै उनले भने ‘मधेशको समस्या र सम्वेदनशीलतालाई नेताहरुले अब पनि उपेक्षा गरे मधेश नेपालभित्र नरहन सक्छ, यसकालागि नेतृत्व पक्ष अविलम्व जिम्मेवार हुनुपर्दछ ।
मधेशलाई अलग देश बनाउने संकल्पका साथ अभियानमा रहेका स्वतन्त्र मधेश गठबन्धनका केन्दीय संयोजक डा. सीके राउतप्रति मधेशका युवाहरुको आकर्षण अत्यधिक बढेको युवा नेता केसीले बताए । ‘डा. सीके राउतका ३–४ लाख फोलोवर छन्, उनको विचारलाई समर्थन गर्ने अधिकांश युवाहरु २० देखि ३० वर्ष उमेर समूहका युवाहरु अत्यधिक छन् । नेतृत्वहरुप्रति प्रश्न गर्दै उनले भने ‘देशको अस्तित्व संकटमा फँस्दै गईरहेको छ तर नेतृत्ववर्ग निदाएर बसेको छ, कसरी निद्रा आएको होला ?
मधेशको पीडालाई मधेशबाट प्रतिनीधित्व गर्ने प्रतिनीधिहरुले समेत गम्भीरतापूर्वक नलिएको गुनासो गर्दै मधेशको असन्तुष्टिलाई सम्वोधन सम्वोधन नगरेसम्म देशको हित नहुने उनले दावी गरे । नेपाली कांग्रेस खोटाङ्ग क्षेत्र नम्वर–२ का प्रतिनीधि समेत रहेका युवा नेता केसी भने ‘म विपी कोइरालाको विचार र सिद्धान्तबाट प्रेरित भएर कांग्रेसमा लागेको हुँ तर पार्टीका नेताहरुले ती विचार र सिद्धान्तलाई समेत बेवास्ता गर्दैआएको छ, यो पाराले कांग्रेस पार्टीको हित कदापि हुनेछैन ।’
देश र मधेशको सवालमा नेपाली कांग्रेस बढी जिम्मेवार देखिनुपर्नेमा गैरजिम्मेवार रुपमा प्रस्तुत भईरहेको उनले टिप्पणी गरे । ‘कांग्रेसका नेताहरु आ–आफ्नै ढङ्गले काम गरिरहेका छन्, जनताप्रति जिम्मेवार छैन, कोही खाडी मुलुकमा ऊँटमा चढेर यात्रा गरिरहेका छन् भने कोही सम्वेदना विहिन भएर बसेका छन् ।’
वर्तमान अवस्थामा नेपाली कांग्रेसमा रहेका युवा नेतृत्व गम्भीर भई मधेशको पीडालाई बुझ्न गम्भीर हुनुपर्नेमा उनले जोड दिए । सप्तरीको मलेठमा भएको मर्मस्पर्शी घटनालाई सम्झेर अझैं पनि आफू दुखी रहेको बताउँदै यस्तो अवस्थामा पनि नेपाली कांग्रेसका अध्यक्ष शेरवहादुर देउवालगायत कुनै पनि नेता हेर्नसम्म नआएको भन्दै पार्टीप्रति उनले असन्तुष्टि व्यक्त गरे । ‘मधेशभित्रको विभेद, असमानता, गरिवी, शोषण, अशिक्षा, बेरोजगारीलगायतका समस्याहरुलाई अब पनि उपेक्षा गरिरहे यसको परिणाम अकल्पनीय हुने शंकेत गरिहेको छ, यस्तो अवस्थामा मधेशलाई काठमाण्डौसँग जोड्न नेपाली कांग्रेस अविलम्व मधेशको झुपडीमा आएर मधेशलाई स्पर्ष गर्न र नेतृत्वदायी भूमिका निर्वाह गर्न निर्वाह गर्न आग्रह गर्दछु ।’
भिडियो हेर्नुहोस्