राजविराज, २१ चैत । स्वतन्त्र मधेश गठबन्धनका केन्द्रीय संयोजक डा. सीके राउतको रिहाइको माग गर्दै सोमवार सप्तरीसहित मधेशका जिल्लाहरुमा एक घण्टा धर्ना दिएका छन् ।
डा. राउतलाई गैरकानूनी रुपमा पक्राउ गरी हिरासतमा राखेकोमा अविलम्व रिहाईको माग गर्दै सप्तरी गठबन्धनले जिल्ला प्रशासन कार्यालय छेउमा अवस्थित हरिनन्देश्वर महादेव मन्दिर प्राङ्गणमा एक घण्टा धर्नामा बसेका हुन् । विभिन्न्न नाराबाजी गर्दै गठबन्धनका सप्तरी संयोजक सुरेन्द्र मधेशीको नेतृत्वमा धर्ना कार्यक्रम आयोजना गरिएको जनाईएको छ ।
कार्यक्रममा जिल्ला संयोजक सुरेन्द्र मधेशी, भींड व्यवस्थापन संयोजक पूर्व सभासद् महेश कुमार यादव विद्यार्थी संयोजक सञ्जय कुमार यादव, प्रचार–प्रसार विभाग प्रमुख चन्देश्वर मण्डल, राजनारायण यादव, सञ्चार विभागका रोशन झा, आर्थिक विभाग सह–संयोजक रमेश सीकेलगायतको सहभागिता रहेको थियो । यस अतिरिक्त मधेशका विभिन्न जिल्लाका प्रशासन कार्यालय अगाडि समेत धर्ना दिईएको जनाईएको छ । त्यस क्रममा मोरङ्ग प्रशासन कार्यालय अगाडिबाट श्याम यादव, सुरेश यादव, सरोज शर्मा, कृष्णा साह, अजय साह, अमरेश यादवसमेत ९ जना रहेका छन् । यस्तै धनुषाबाट जिल्ला संयोजक रामशंकर महासेठ, विवेक कर्णलगायत एक दर्जन गठबन्धनका कार्यकर्ताहरु पक्राउ परेका छन् ।
डा. राउतलाई जनकपुर स्थितको डेराबाट गत माघ २० गते प्रहरीले पक्राउ गरी साङ्गठनिक अपराध मुद्दामा सिरहाको लहान स्थित ईलाका प्रहरी कार्यालयमा राखिएको छ । उनीसँगै पक्राउ परेकाहरुमध्ये केही विरामी पर्दा समेत बेवास्ता गर्दैआएको गठबन्धनको आरोप छ ।