राजविराज, २० चैत । हालै गरिएको स्थानीय तहको संरचनामा आफूहरु अन्यायमा परेको भन्दै सप्तरीको पश्चिमी पाँच गाउँ विकास समितिका वासिन्दाहरु सदरमुकाम राजविराज आईपुगेका छन् ।
अव्यवहारिक एवम् त्रुटीपूर्ण रहेको भन्दै मल्हनियाँ, मौवाहा, बेल्ही, रौतहट र रामनगर गाविसलाई मिलाएर छुट्टै गाउँपालिका बनाउन माग गरेका हुन् । हाल बिहुल नदी पश्चिमका गाविसका वासिन्दाहरुलाई बोदे वर्साइन नगरपालिकाको दुरी बढी हुनुका साथै बाटोघाटोको समेत समस्या रहेकोले उनीहरुले सच्याउन माग गरेका छन् । उनीहरुले नाराबाजी गर्दै सरोकारवाला निकायहरुमा ज्ञापनपत्र बुझाउन पुगेका थिए ।
उनीहरुले प्रमुख जिल्ला अधिकारी कृष्ण वहादुर कटवाल र स्थानीय विकास अधिकारी सुदेव पोखरेललाई आइतवारै ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्र बुझाउन सम्पूर्ण राजनीतिक दलका नेताहरु समेत सहभागी भएका थिए । आफूहरुको माग पुरा नभए सशक्त आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी संघीय समाजवादी फोरम नेपालका जिल्ला सदस्य दयानन्द गोइतले बताए ।
हालै गरिएको संरचनाले आफूहरुमाथि ठूलो विभेद भएको भन्दै नसच्याएसम्म कुनै हालतमा वर्तमान संरचनालाई नस्वीकार्ने बताए । विकास निर्माण, बाटोघाटो, सञ्चार, विद्युत लगायतको सवालमा समेत आफूहरु पछाडि परेकोले सहजताकालागि छुट्टै गाउँपालिका बनाउन माग गरेका छन् ।
पाँच गाविसका वासिन्दाहरु थालेको आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै विरोध कार्यक्रममा सहभागी भएका सप्तरी क्षेत्र नम्वर–६ बाट निर्वाचित नेपाली कांग्रेसका सांसद सुरेन्द्र प्रसाद यादवले सिमांकनको मुद्दालाई तत्काल सम्वोधन हुनुपर्ने बताए । हाल कायम गरिएको संरचनालाई नसच्याईए यस्तो अवस्थामा उक्त गाविसहरुमा चुनाव समेत प्रभावित हुनसक्ने चेतावनी दिएका छन् ।
यसैगरी राजविराज नगरपालिकाको हालको संरचनामा अव्यवहारिक रुपमा केही नेताहरुले स्वार्थसिद्धिकालागि नयाँ संरचना बनाएको भन्दै नगरका वुद्धिजिवि एवम् राजनीतिकर्मीहरुले गम्भीर आपत्ति जनाएका छन् । आइतवार समेत राजविराजमा प्रदर्शन र शहिद दशन चौकमा विरोधसभा आयोजना गरिएको आन्दोलनरत संघर्ष समितिका उमेश कुमार साह ‘कमाण्डोले जानकारी दिएका छन् ।