• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

स्थानीय प्रशासनले ताला तोडे, मोर्चाले फेरी लगाए

स्थानीय प्रशासनले ताला तोडे, मोर्चाले फेरी लगाए

राजविराज, १७ चैत । स्थानीय निकायमा गरिएको तालाबन्दी स्थानीय प्रशासनले तोडेपछि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेता तथा कार्यकर्ताहरुले विहीबार पुनः तालाबन्दी गरेका छन् ।
नेपाल सरकारले हालै निर्धारण गरेको संरचना अनुसार सप्तरी जिल्लामा ८ वटा नगरपालिका र ९ वटा गाउँपालिका निर्धारण गरिएकोमा सोको विरोध गर्दै गत चैत्र ६ गते तालाबन्दी गरेको थियो । जिल्ला विकास समिति र राजविराज नगरपालिकामा लगाईएको ताला स्थानीय प्रशासनले खोलेको जानकारी पाएलगत्तै मोर्चाका नेता तथा कार्यकर्ताहरुले पुनः तालाबन्दी गरेका छन् । मोर्चा कार्यकर्ताले नगरपालिकाको झ्याल तथा ढोकाहरु तोडफोड गरेको जनाईएको छ । आफूहरुले लगाएका ताला तोडिए त्यसको परिणाम भयावह हुने मोर्चाले चेतावनी दिएको छ ।
यसैगरी मालपोत कार्यालय समेत पुगेका मोर्चा नेता तथा कार्यकर्ताहरुको समूहले पुरानै संरचनामा काम गर्न आह्वान गरेका छन् । नयाँ संरचनामा कामकाज अगाडि बढाए आफूहरु सशक्त रुपमा प्रस्तुत हुने राष्ट्रिय मधेश समाजवादी पार्टीका केन्द्रीय सचिव गजेन्द्र कुमार मण्डलले जानकारी दिएका छन् ।
मोर्चाले परिमार्जनसहित संविधान संशोधन, स्थानीय तहको पुर्नसंरचना अवैज्ञानिक र अव्यबहारिक रहेकोले सच्याउनुपर्ने, स्थानीय तहलाई केन्द्र सरकार नभई प्रदेश सरकारको मातहत राख्नुपर्ने, स्थानीय तहको निर्वाचन अगाडि संघिय तथा प्रदेशको निर्वाचन गर्नुपर्ने, समान जनसंख्याको आधारमा देशभरी स्थानीय तहको निर्धारण गर्नुपर्ने, फागुन २३ गते सप्तरीको मलेठ घट्नामा प्रहरीद्वारा हत्या गरिएका पाँच जना निर्दाेषहरुलाई शहीद घोषणा गर्नुपर्ने, मलेठ घट्नाको निष्पक्ष न्यायायीक छानबिन आयोग गठन गर्नुपर्ने, शान्तिपूर्ण आन्दोलनमा राज्यले नश्लबादी चरित्र देखाउँदै गर्दै आएको बर्बर दमन बन्द गर्नुपर्ने र संघियतालाई समाप्त पार्ने षडयन्त्र नगरियोस् भनी माग राखेका छन् ।