राजविराज, १४ चैत्र । तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले राज्यको पुनर्संरचना सम्वन्धि मुद्दालाई थाती राखेर आफूहरु कुनै पनि हालतमा चुनाव नजाने बताएका छन् ।
पार्टीद्वारा राजविराजमा सोमवार आयोजित पत्रकार सम्मेलनमा वहाँले यस्तो कुरा बताएका हुन् । जनसंख्याको आधारमा हरेक तहमा प्रतिनीधित्व र सिमांकनको मुद्दालाई कुनै पनि हालतमा आलटाल गर्न नमिल्ने बताउँदै उनले भने ‘राज्य पुनर्संरचना सम्वन्धि मुद्दालाई थाती राखेर हामीहरु कुनै पनि हालतमा चुनाव जादैनौं ।’
सरकारले जबरदस्ती नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी परिचालन गरेर चुनाव गराउन खोजे कुनै पनि हालतमा सफल नहुने अध्यक्ष ठाकुरले बताए । स्थानीय तहको संरचना नै अहिले पनि विवादित अवस्थामा रहेको भन्दै यस्तो अवस्थामा चुनावको औचित्य नरहने उनले बताए । ‘हामी चुनाव विरोधी होइनौं, तर हामी भन्छौं पहिला संविधान संशोधन गरौं अनि मात्र चुनाव ।’
सरकारले विगतमा गरेका सम्झौताहरु कार्यान्वयन नभएका कारण देशमा जटिलता बढ्दै गएको अध्यक्ष ठाकुरले तर्क दिए । ‘एकातिर आन्दोलनरत पक्षहरुसँग सम्झौता गर्दै जाने र अर्कोतर्फ त्यसलाई बेवास्ता गर्दै जाने प्रवृतीले गर्दा देशमा समस्याको निकास हुनुको साटो झन बल्झिदै गईरहेको छ’ अध्यक्ष ठाकुरले भने ‘अन्तरिम संविधानमा लेखिएका विषयहरुलाई पनि वर्तमान संविधान हटाईएको छ, यो संविधानले मधेशी, आदिवासी, दलित, जनजाती, दलित, मुस्लिम, पिछडावर्ग लगायतका समुदायको अधिकार सुनिश्चित कदापि हुन सक्दैन ।’
तीन ठूला दल मधेशको सवालमा जिम्मेवार नरहेको आरोप लगाउँदै नेता ठाकुरले उनीहरुले जसरी जबरदस्ती संविधान जारी गरे, त्यसरी नै कार्यान्वयन गर्ने दाउमा रहेको बताए । सप्तरीको मलेठ घटनामा संलग्न दोषीको पहिचान गरी कडा कार्वाही हुनुपर्ने तथा अविलम्व शहिद घोषणा गरी परिवारजनको भरणपोषणको जिम्मा सरकारले लिनुपर्नेमा उनले जोड दिए ।
मधेश केन्द्रित दलहरु बीच एकता हुनुपर्ने आवाज आमजनताकै बीचबाट उठिरहेको भन्दै यसलाई सकारात्मक रुपमा सबैले लिनुपर्नेमा जोड दिए । मधेश केन्द्रित दलहरुबीच एकिकरणकालागि आफू शुरुदेखि नै प्रयासमा रहेको बताउँदै तमलोपा अध्यक्ष ठाकुरले भने ‘मधेश केन्द्रित पार्टीहरु एकिकरणमा जानु सकारात्मक हो र यो समयको माग पनि हो, यसलाई सम्पूर्ण मधेश केन्द्रित पार्टीहरुले गम्भीर रुपमा लिनुपर्छ ।’ पाटीहरुभित्र नेतृत्वको विषयलगायतका गम्भीर सवालहरु समस्याको रुपमा रहेकोले यसलाई बहस, छलफल।सहमती र सहकार्यको माध्यमले टुङ्गो लगाउनुपर्नेमा उनले जोड दिए ।्
पत्रकार सम्मेलनमा पार्टीका सह–महामन्त्री जयप्रकाश ठाकुर, केन्द्रीय सदस्यहरु प्रा. अमरकान्त झा, साधना झा, रामप्रित यादवसमेतका नेताहरुको उपस्थिति थियो ।