राजविराज, १३ चैत । लोक सञ्चार नामक संस्थाले सञ्चालन गरेको सड़क नाटक यात्रा सप्तरी आईपुगेको छ ।
नाट्य टोलीले आइतवार जिल्लाको अर्नाहा, पत्थरगाडा, दिघवा र तोपामा नाटक प्रदर्शन गरेको छ । सड़क नाटकमा सरसफाई र खानेपानी सम्बन्धि बिषयवस्तु उठान गरिएको छ । खुल्ला दिशामुक्त क्षेत्र घोषणालाई सघाउनु पनि यसको अर्को उद्देश्य रहेको नाटककी निर्देशक प्रियंका झाले जानकारी दिएकी छिन् ।
नाटकमा प्रियंका झा, अनिता रानी मण्डल, रीना रिमाल, गंगाकान्त झा, राजेश सक्सेना, नीलेश झा, मुकेश झा, सोनू नविन र ललित झाले अभिनय गरेका छन । उक्त नाटक सिरहा, सप्तरी, धनुषा र महोत्तरी गरी जम्मा ४० स्थानमा प्रदर्शन हुने उनले जानकारी दिईन् ।
चर्चित नाटककार रमेश रञ्जन झाद्वारा लिखित नाटक तयार पार्न जीवन बरालले सहयोग गरेको निर्देशक झाले जानकारी दिएकी छिन् । उनका अनुसार सप्तरीमा सेभ द सप्तरी नामक संस्थाले समन्वय गरेको तथा स्थानीय कलाकार जिबछ दास, संस्थाका कार्यक्रम संयोजक गजेन्द्र प्रसाद यादव, ओमप्रकाश दास, निरज कुमार देव, मनोजकुमार यादव र उमा अर्यालले सहयोग गरेको उनले बताईन् ।