राजविराज, १२ चैत । सप्तरीको राजविराज स्थित देशकै अति पुरानो साहित्यिक संस्था मैथिली साहित्य परिषद् राजविराजको साधारणसभा चैत्र २६ गते हुने निश्चित भएको छ ।
मैथिली भवनमा शनिवार परिषद्का अध्यक्ष शुभचन्द्र झाको अध्यक्षतामा सम्पन्न बैठकले परिषद्को साधारणसभाको तिथि तय गरेको हो । पव्लिक विन्देश्वरी माध्यमिक विद्यालय प्राङ्गणमा विशेष समारोहका बीच परिषद्को साधारणसभा आयोजना गर्ने सर्वसम्मत निर्णय भएको परिषद्का सचिव श्यामसुन्दर यादव ‘पथिक’ले जानकारी दिएका छन् ।
उनका अनुसार बैठकले नयाँ कार्यसमिति सर्वसम्मत चयन गर्नकालागि समन्वयकारी भूमिका निर्वाह गर्न परिषद्का पूर्व अध्यक्षहरु सम्मिलित पाँच सदस्यीय समिति गठन गरेको छ । समितिमा पूर्व अध्यक्षहरु प्रा. अमरकान्त झा, विष्णु कुमार मण्डल, देवेन्द्र मिश्र, विवेकानन्द मिश्र र पब्लिक विन्देश्वरी माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक नथुनी दास रहेका छन् ।
यसैगरी मैथिली साहित्य परिषद्को जग्गा अतिक्रमण भईरहेको पाईएकोले परिषद्ले नगरपालिकाका पूर्व जनप्रतिनीधि अमृतलाल चौधरीसहित स्थानीय बुद्धिजिवि, समाजसेवी, जनसमुदाय, परिषद्का ज्येष्ठ सदस्यसमेतलाई जानकारी गराई उक्त समस्या समाधान गर्न चैत १९ गते शनिवार बृहत छलफल आयोजना गरिने परिषद्का सचिव यादवले जानकारी दिएका छन् ।
वि.सं. २०२६ सालमा स्थापना भएको उक्त संस्थाले मैथिली भाषा, साहित्य, कला, संस्कृतिको संरक्षण, सम्वद्र्ध एवम् प्रद्र्धनमा सक्रिय भूमिका निर्वाह गर्दैआएको छ । परिषद्मा पाँच सयभन्दा बढी आजिवन सदस्य रहेको छ ।