• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

डा. बाबुरामको ठाडो चुनौती ‘मलाई राष्ट्रघाती भन्नेहरुको डिएनए टेष्ट गर, तिमीहरुको राष्ट्रियता के हो ?’

डा. बाबुरामको ठाडो  चुनौती ‘मलाई राष्ट्रघाती भन्नेहरुको डिएनए टेष्ट गर, तिमीहरुको राष्ट्रियता के हो ?’

बर्दिवास, १० चैत्र । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले एकल जातीय अहंकारवादी सोचका कारण देशमा विखण्डनको बिऊ रोपिएको बताएका छन् ।
महोत्तरीको वर्दिवासमा विहीवार आयोजित राष्ट्रिय एकताको लागि हिमाल, पहाड, तराई–मधेस राष्ट्रिय अभियानलाई सम्वोधन गर्दै उनले यस्तो कुरा बताएका हुन् । आफूलाई राष्ट्रघाती भन्नेहरुप्रति आक्रोश पोख्दै प्रश्न गर्दै उनले भने ‘यो देश मेरा बाउबाजेले बनाएको हो, म राष्ट्रवादी हुँ, मेरो रगतमा, मेरो डिएनएमा राष्ट्रियता छ, म यो देशलाई बचाएर एकताबद्ध बनाएर राख्छु ।’ उनले अगाडि थपे ‘म यहाँहरुलाई विश्वास दिलाउन चाहन्छु तर, मलाई राष्ट्रघाती भन्नेहरुको डिएनए टेष्ट गर, तिमीहरुको राष्ट्रियता के हो ?’
नेपालको निर्माणमा मधेशी समुदायहरुको योगदानको चर्चा गर्दै उहाँले सीता, गौतमबुद्ध सबैलाई नेपाली भनेर गर्व गर्ने समुदायले मधेशमा बस्ने मधेशीलाई गैरनेपाली देख्नु नै गलत भएको बताउँदै सबै समुदायलाई एकताबद्ध गराउने सूत्र भनेको संघीयताको उचित प्रबन्ध नै भएको स्पष्ट पारे । संयोजक भट्टराईले संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी समानुपातिक लोकतन्त्र सबैलाई विदेशीले ल्याइदिएको भन्नेहरुप्रति प्रतिप्रश्न गर्दै अग्रगामी कुराजति विदेशीको र पछाडि परेका कुराहरु चाहिं स्वदेशी भनेर दिल दिमाग भुट्ने गरेको धारणा राखे ।
‘संघीयता भनेको एउटै घरमा दाजुभाइहरुलाई फरकफरक कोठा दिनुजस्तो मात्र हो, के यसो गर्दा घर टुक्रिन्छ ? घरमा अशान्ति हुन्छ ?’ उनले प्रश्न गरे । केही बेइमान र ठगहरुले इतिहासलाई बङ्ग्याएर उपलब्धिलाई न्यूनीकरण गरेर भ्रम सिर्जना गरेको बताउँदै नेपालमा सबै समुदायहरु रहेकाले सबैको साझा चित्र नै नेपाल रहेको र त्यसलाई व्यवस्थापन गर्नु नै अहिलेको आवश्यकता रहेको डा. भट्टराईले आवश्यकता औंल्याए ।
संविधान आधा गिलास खाली र आधा गिलास भरी छ भनेर आफूले संविधानमा भएको अपूर्णतालाई औंल्याएको बताउँदै संविधानलाई पूर्णता दिन आफू निरन्तर संघर्षरत रहेको प्रष्ट्याए । संविधान संशोधनलाई त्यत्तिकै छाडेर चुनावतिर लैजान सरकारले योजना बनाइरहेको बताउँदै उनले भने ‘मैले प्रचण्डलाई ३० वर्ष झेलेको छु, उहाँ बिहानदेखि बेलुकासम्म कुरा फेर्नु हुन्छ, उहाँ एउटासँग लभ गर्नुहुन्छ र अर्कोसँग विवाह गर्नुहुन्छ तर, मैले जोसँग लभ गरेँ, उसैसँग बिहे गरेँ । उनले प्रचण्डसँग प्रश्न गर्दै भने ‘सत्ताको कुर्सी पाएपछि हिजो माओवादीमा हुँदा गरेको प्रतिवद्धता बिर्सन मिल्छ ?’
पार्टीका सह–संयोजक रामचन्द्र झाले संविधान जारी भएसँगै मधेशी जनताको आन्दोलनमा पूर्णता दिनका लागि डा. बाबुराम भट्टराई जनकपुर आएको प्रसङ्ग उल्लेख गर्दै उनले नयाँ शक्तिले तराई मधेशको विकास र जनताको अधिकारको अवस्था बुझ्दै मधेशयात्रा गरेको बताए । एमालेले गलत सन्देश फैलाइरहेको आरोप लगाउँदै जनताको भावनाको विपरित कार्यक्रमहरु गरेर जनताले बलिदान दिनुपर्ने अवस्था आएको प्रष्ट्याए । देशमा साम्प्रदायीक लडाईं भयो भने राजनीतिक रोटी सेकेर खान पाइन्छ भन्ने यदि कसैले सोचेको छ भने त्यो दुर्भाग्यपूर्ण हुने चेतावनी दिंदै नेता झाले भने ‘अहिले राष्टिय एकताका लागि सबै समुदायबीच एकता भाव पैदा गर्नु आवश्यक छ ।‘
नेता नाथुप्रसाद चौधरीले सभालाई सम्बोधन गर्दै २०७२ सालको संविधानले विविधतामा एकतालाई खल्बल्याउने दुष्प्रयास गरेको बताउँदै नयाँ शक्ति पार्टीले त्यो खल्बलिएको एकता जोड्न तराई मधेश हिमाल पहाडलाई समेट्दै राष्टिय एकता मजबुत बनाउने अभियान सञ्चालन गरेको बताए । पुराना दलहरु थाकिसकेको अवस्थामा नयाँ शक्तिको जन्म भएको बताउँदै नयाँ शक्ति वैकल्पिक राजनीतिक धारसहित उदाएको उनले विश्लेशन गरे । नेता चौधरीले नयाँ शक्तिले सम्पूर्ण नेपालीहरुको भावना प्रतिविम्बित गर्ने गरी कार्यक्रम अगाडि सारेको बताउँदै नयाँ शक्तिले जनताको समस्या समाधान गर्न लागिपरेको दावी गरे ।
कार्यक्रममा नेता डा. प्रवीण मिश्रले डा. बाबुराम भट्टराईले सबैलाई समान व्यवहार हुनुपर्छ भन्ने कुरा पुराना दलहरुले नमान्दा अहिलेको अवस्था आएको धारणा राखे । मधेशमा हत्या मच्चाएर चुनाव नगराउनको लागि षड्यन्त्र भइरहेको बताउँदै उनले जनताले अब त्यस्तो षड्यन्त्रलाई परास्त गर्ने बताए । देशलाई आर्थिक समृद्धितर्फ लैजानुपर्ने आवश्यकता औंल्याउँदै यसका लागि नयाँ शक्तिले अगाडि सारेको क्लस्टरको अवधारणाले समावेशीपूर्ण आर्थिक विकास सम्भव रहेको उनले बताए । उनले भने ‘मौका दिनुहोस् हामी सेवक भएर उहाँहरुको सेवा गर्न चाहन्छौं ।’
संगठन विभाग प्रमुख देवेन्द्र पौडेलले पुराना पार्टीहरुलाई चुहिने छाताको संज्ञा दिंदै त्यस्तो चुहिने छातामुनि ओत लाग्दा रुझिने बताए । उनले नयाँ शक्ति पार्टी बन्न सक्दैन भन्नेहरुप्रति कटाक्ष गर्दै पार्टी बनिसकेको र अब बुलेट ट्रेनको गतिमा अघि बढ्ने बताए । नेपालीहरुको राष्ट्रिय एकता मजबुत बनाउन एमालेले सिर्जना गरेको घाउलाई मलमपट्टी गर्न आफूहरु एकता अभियानमा हिंडेको उनले बताए ।

तस्विरहरुः घनश्याम मिश्र/बर्दिवास