• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

पहिला संविधान संशोधन त्यसपछि चुनावः डा. बाबुराम

पहिला संविधान संशोधन त्यसपछि चुनावः डा. बाबुराम

लहान, ९ चैत । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले नयाँ शक्ति पार्टीले देशलाई जोड्नकालागि आफूहरुले हिमाल, पहाड, तराई मधेश राष्ट्रिय अभियान सञ्चालन गरेको बताएका छन् ।
सिरहाको लहानमा नयाँ शक्ति पार्टीले सुरु गरेको हिमाल, पहाड, तराई मधेश राष्ट्रिय अभियानको बुधबार उद्घाटन गर्दै उनले यस्तो कुरा बताएका हुन् । मधेशी समुदायले विखण्डन होइन बरु देशको कार्यकारी प्रमुख बन्ने लक्ष्य राख्नुपर्नेमा जोड दिँदै उनले भने ‘मधेशी समुदायका मान्छेले नेपालको कार्यकारी प्रमुख बन्ने लक्ष्य राख्नुपर्छ र त्यो अधिकार तपाईंहरुमा छ ।’
संयोजक भट्टराईले संघीयतको मुद्दा टुङ्गोमा पुर्याएर मात्र चुनाव गर्नुपर्ने बताउँदै नयाँ शक्ति जहिल्यै पनि चुनावको पक्षमा रहेकोले निष्पक्ष र धाँधरीरहित चुनावका लागि नयाँ शक्तिले ६ वटा पूर्वशर्तलाई अगाडि सारेको प्रष्ट्याए । ‘अहिले निर्वाचन पहिले कि संशोधन पहिले भन्ने कुरामा विवाद भइरहेको छ, गाडा अघि बढ्नकोलागि सहि अर्थमा गोरु अगाडि र गाडा पछाडि हुनुपर्छ’ उहाँले भन्नुभयो – ‘संघीयताको मुद्दा टुंग्याएर संविधान संशोधन गर्ने र त्यसपछि चुनाव गर्नुपर्छ, यो नै उपयुक्त र सुल्टो बाटो हो ।’

सरकारले संघीयताको मुद्दा र संविधान संशोधनको विषयलाई थाती राखेर चुनावको कुरा गरेर संघीयता र राज्य पुनःसंरचनाको मुद्दालाई नै विषयान्तर गर्न खोजेको आरोप लगाउँदै उनले प्रश्न गरे– ‘नयाँ शक्ति पार्टीको स्पष्ट अडान के हो भने संविधानले कल्पना गरेको संघीय संरचना, प्रदेश, स्थानीय तह, स्वायत्त क्षेत्र, विशेषाधिकार क्षेत्रको सीमांकन भएकै छैन, प्रदेशको सीमाङ्कन हल भएकै छैन, यस्तो अवस्थामा चुनाव पहिले गर्छु भन्नु कसरी सुल्टो बाटो हुन्छ ?’
पार्टीका संयोजक भट्टराईले इतिहासको मूल्यांकन गर्दै राज्यको पुनःसंरचना गरेर नेपालका राष्ट्रिय एकता कायम राख्नुपर्ने र त्यसका लागि संघीयताको प्रवद्र्धन अपरिहार्य रहेको बताए । ‘एकातिर एकात्मक राज्य राख्न चाहने प्रवृत्ति र अर्कोतिर पृथकतावादी प्रवृत्तिले पनि समस्या पारिरहेको छ’ डा. भट्टराईले भने ‘यी दुई वटै एउटै सिक्काका दुई पाटा हुन्, जसले अन्ततः विखण्डनको बिउ रोपेका छन्, यसको समाधान संघीयताको उचित व्यवस्थापन नै हो ।’
पार्टीका सह–संयोजक रामचन्द्र झाले निर्वाचनको लागि उपयुक्त वातावरण नबनेको भन्दै सबैभन्दा पहिले निर्वाचनको वातावरण बनाउनुपर्ने आवश्यकता औंल्याए । पञ्चायतकालमा र राजाको प्रत्यक्ष शासनकालमा पनि चुनाव भएको प्रसङ्ग उल्लेख गर्दै सबैलाई नसमेटिने चुनावले समस्या समाधान गर्न नसक्ने बताए । एमाले, कांग्रेस, माओवादीलगायतका पुराना राजनीतिक पार्टीहरु देशलाई निकास दिने सवालमा विफल भएकोले नयाँ शक्तिले एउटा वैकल्पिक शक्तिको रुपमा चुम्बकीय काम गरेको उनले दावी गरे ।
संगठन विभाग प्रमुख देवेन्द्र पौडेलले यो देशलाई विखण्डन गर्ने कुत्सित चाहना राख्नेहरुलाई खबरदारी गर्न आफूहरु मधेश झरेको बताए । नेपालमा आएको संघीयता र समावेशीताका मुद्दाहरु मधेशको योगदान भएकोले यसलाई कसैले खोस्न नसक्ने दावी गरे । देशलाई समृद्धिको बाटोमा लिएर जानका लागि नयाँ शक्तिका अभियन्ताहरु सक्रिय भएर अघि बढेको बताउँदै हिमाल, पहाड, मधेश एक भएर राष्ट्रिय एकता कायम गर्नुपर्नेमा जोड दिए ।
पार्टीका केन्द्रीय कार्यकारी सदस्य देवी प्रसाद ओझाले जसरी एउटी आमाको लागि सबै सन्तान बराबरी हुन्छन् त्यसैगरी यो देशमा बस्ने सबै नेपालीहरुको हक बराबरी हुनुपर्ने बताए । मधेशमा बस्ने धर्तीपुत्रहरुले यो मधेशलाई आवादी गरेर नेपाल बनाएको तथ्य उल्लेख गर्दै मधेशमा बस्ने मधेशीलाई विहारी भनेर कहिल्यै मुलुकको हित नहुने कुरामा जोड दिए ।
नयाँ शक्तिको अन्तर्राष्ट्रिय विभाग प्रमुख हिसिला यमीले नयाँ शक्तिले जे भन्छ, त्यही गर्ने भएकाले नै नयाँ भएको बताईन् । नयाँ शक्ति समावेशी सिद्धान्तको असली प्रयोगकर्ता भएको बताउँदै पुराना पार्टीहरुको उपादेयता सकिएको उनले दावी गरिन् । संघर्षमा मधेशी समुदाय निकै अगाडि रहँदारहँदै पनि यहाँका समुदाय र पार्टीहरुमा एकताका अभाव रहेकोले आन्तरिक एकता हुनुपर्ने आवश्यकता औंल्याईन् ।
पार्टीको सुशासन आयोगका संयोजक परशुराम खापुङले नयाँ शक्तिको जारी अभियान हिमाल पहाड तराई मधेशलाई जोडेर राष्टिय एकता निर्माण गर्ने अभियान भएको बताए । उनले अहिलेको सन्दर्भमा चुनाव अपरिहार्य भएकोले सबै पक्षलाई समेटेर चुनाव गर्नुपर्ने धारणा राखे । संसदीय विभाग प्रमुख केशव दाहालले तराई मधेशमा जारी आन्दोलन न्यायको आन्दोलन भएकोले आन्दोलनमा नयाँ शक्ति पार्टीको पनि ऐक्यवद्धता रहेको बताए । उहाँले काठमाडौं मधेशसँग र मधेश काठमाडौंसँग रहनुपर्ने धारणा राखे ।
केन्द्रीय कार्यकारी सदस्य कलामुद्दीन राइनले मधेशको आन्दोलन कसैको अधिकार खोस्न नभई मधेशी जनतालाई अधिकार सम्पन्न गराउन भएकोले सबैले साथ र सहयोग गर्नुपर्ने धारणा राखे । पार्टीका सामाजिक आन्दोलन अभियानका संयोजक राम कुमार शर्माले संविधानमा मधेशी जनतालाई अधिकार दिनका लागि कन्जुस्याईं गरिएकोले तराई मधेशमा आन्दोलन उठेको बताउँदै तराई मधेश, आदिवासी जनजातिको समस्या सम्बोधन नगरेसम्म देशले समृद्धिको मार्ग अवलम्बन गर्न नसक्ने धारणा राखे ।
प्रस्तावित २ नम्वर प्रदेशका संयोजक महेन्द्र पासवानले जनतालाई हक, अधिकार सम्पन्न गर्नकालागि नयाँ शक्तिको स्थापना भएकोले नयाँ शक्ति पार्टीले सबै उत्पीडित मधेशी, थारु, आदिवासी जनजातिको अधिकार सुनिश्चित गर्ने बताए । सभालाई नयाँ शक्तिका सिरहा जिल्ला संयोजक जिवछ यादव, कार्यकारी सदस्य लक्ष्मी चौधरी थारु, पिंकी गुरुङ, रामरिझन यादवलगायतले सम्बोधन गरे ।
कार्यक्रममा नयाँ शक्ति पार्टी निकट सांस्कृतिक संगठन समृद्धि सांस्कृतिक समूहले साङ्गीतिक प्रस्तुति दिएका थिए । कार्यक्रममा विभिन्न पार्टीहरु परित्याग गरी करिब दुई सय जना स्थानीय नेता तथा कार्यकर्ताहरु नयाँ शक्ति पार्टीमा प्रवेश गरेका छन् ।
नयाँ शक्ति पार्टीले हिमाल, पहाड, तराई मधेश जोड्ने राष्ट्रिय एकता अभियान बुधबार सिरहाबाट सुरु गरेको छ । बुधबार लाहानमा आयोजना गरिएको एक कार्यक्रममा पार्टीका संयोजक डा. बाबुराम भट्टराईले उद्घाटन गर्दै कार्यक्रमका शुभारम्भ गरेका छन् । नयाँ शक्ति पार्टीले राष्ट्रिय एकता निर्माणका लागि अभियानको सुरुवात गरेको हो । सिरहाबाट सुरु अभियान १३ गते कैलालीको धनगढीमा पुगेर समापन हुनेछ ।