• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

अभिलेख

गर्दनमा गोली लागेका बालक भन्छन् ‘मृत्युको मुखबाट झण्डै जोगिएको हुँ’

गर्दनमा गोली लागेका बालक भन्छन् ‘मृत्युको मुखबाट झण्डै जोगिएको हुँ’

राजविराज, ९ चैत । सप्तरीको मलेठ घटनामा गर्दनमा गोली लागेका १३ वर्षिय बालक सुरेन्द्र साह बल्ल–बल्ल बाँच्न सफल भएका छन् ।
नेकपा एमालेले गत फागुन २३ गते आयोजना गरेको मेची–महाकाली अभियानका क्रममा प्रहरीले चलाएको गोली उनलाई गर्दनमा लागेको थियो । सप्तरीको भूतही–५ घर भएका उनी हाल राजविराज–६ मा रहेर ह्याप्पील्याण्ड सेकेण्ड्री बोर्डिङ्ग स्कूलमा अध्ययनरत छन् । आफ्ना साथीहरुकासाथ साइकल चढेर उनी आन्दोलन हेर्न गएका थिए ।
‘एक जनालाई गोली लागेको हल्ला भयो, म पनि हेर्न गएँ’ उनले भने ‘हेर्न मात्र के गएको थिएँ प्रहरीले निसाना बनाएर फेरी गोली फायर ग¥यो, उक्त गोली मेरो गर्दनमा लाग्यो ।’ शरिर रक्ताम्मय भएपछि आफू अतालिएपछि त्यहाँ रहेका व्यक्तिहरुले राजविराज स्थित गजेन्द्रनारायण सगरमाथा अञ्चल अस्पतालमा भर्ना गरिए पनि तत्कालै विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान भर्ना गरिएको बालक साहले बताए ।
गोली लागेपछि आफू अब बाँच्दिन जस्तो लागेकोमा ईश्वरको कृपाले सकुशल घर फर्किन पाएको बताउँदै उनले भने ‘गर्दनमै गोली लाग्दा पनि म बाँच्नु भनेको मृत्युको मुखबाट झण्डै जोगिएको हुँ ।’ गर्दनमा रहेको गोली अपरेशन गरेर झिकिएको तथा केही दिन वार्डमा राखिएपछि डिस्चार्ज भएर घर फर्केको उनले जानकारी दिए ।
आफू आन्दोलनमा नभई हेर्नकालागि मात्र गएको अवस्थामा गोली लागेको जानकारी दिँदै उनले भने ‘त्यहाँ गोली चलाउनुपर्ने अवस्था नै थिएन, २५–३० जना मात्रै प्रदर्शनकारी थिए, उनीहरुले नाराबाजी गरिरहेका थिए, प्रहरीले अश्रु ग्याँसको सेल फायर गरेपछि त्यही सेल प्रहरीतर्फ नै फाल्दै गरेको देखें ।’ प्रदर्शनकारीहरुले पेट्रोल बम तथा घरेलु हतियार लिएर आक्रमण गरिरहेको कुरा के हो ? भनी प्रश्न गर्दा उनले भने ‘प्रदर्शनकारीहरुसँग मैले त्यस्तो केही देखिनँ, बरु प्रहरीको शैली सम्झेर अहिले पनि रिस उठ्छ ।’
आफ्ना छोरालाई संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सप्तरीले ११ हजार रुपैयाँ सहयोग गरेको तथा फोन गरेर नेताहरुले खोजखबर गर्ने गरेको घाइते बालक सुरेन्द्रकी आमा शंकरिया देवी साहले बताईन् । छोराको एम्बुलेन्स खर्च तथा हाल औषधी खर्च समेत आफैले व्यवस्था गरिरहेको जानकारी दिँदै उनले भनिन् ‘धरानमा उपचाररत रहँदा निःशुल्क रहे पनि हाल आफैले व्यहोर्नुपरेको छ ।’ छोरा सुरेन्द्रको निःशुल्क पढाई र उपचार खर्चको व्यवस्था गरिदिन उनले सम्वन्धित पक्षसँग आग्रह गरेकी छिन् ।