• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
नेपालको इतिहासमा मेरो स्थान

सरोज राय

मेरो पुर्खाहरु यस भूमीमा (आज को नेपाल) नेपालको नामाकरण हुनु भन्दा हजारौ साल पहिलादेखि, कुनै पनि काल (शाहकाल, राणाकाल, मल्लकाल, लिछविकाल, किराँतकाल) भन्दा धेरै पहिला पहिलो शासकको रुपमा शासन गरेका थिए । जुन नेपाललाई मेरो पुर्खाहरुले बनाए आज त्यसैको सन्तानमाथि अस्तित्वको सवाल खडा गरिंदैछ ।

हो, म त्यहि गोपालवंशीको सन्तान हुँ जो यस भूमीमा सबैभन्दा पहिले शासन गरेका थिए र यो यथार्थ नेपालको सबै इतिहासकारले पुष्टि गरेका छन् । नेपालको इतिहास नै गोपालवंशीबाट सुरुवात भएको छ । गोपालवंशीलाई ’नीप’ वा ’नेप’ पनि भनिन्थ्यो र उनीहरुको नाम बाट ’नेपाल’ को नामाकरण भयो । काठमाण्डौको निर्माणकर्ता नै गोपालवंशी थिए । कुरुक्षेत्रको लडाई पछि गोपालवंशी भारतवर्षको वृन्दावनबाट नेपाल भूमीमा आएका थिए । आठ गोपालवंशी राजा नेपालको भुमीमा करिव ५२१ वर्ष शासन गरेका थिए । आठ राजा मध्ये ’भुक्तमान’ पहिलो शासक थिए भने ’जीत’ अन्तिम शासक ।
७०० ई.सं. भन्दा पहिला नेपाल आएका र नेपालका निर्माणकर्ता भएका गोपाल वंशजका सन्तानहरुमाथि अस्तित्वको प्रश्न खडा गरिन्छ र विदेशी भनिन्छ भन्ने गोपालवंशी भन्दा धेरै पछि आएका हरु कसरी नेपालका मूलवासी भए ? नेपालको इतिहासले पुष्टि गर्छ कि हामी मधेशी यस भुमिको धर्तीपुत्र र मूलवासी छौँ । त्यसैले मधेशीमाथि प्रश्न चिन्ह खडा नगरौं र सबैजना एक अर्को अस्तित्व स्वीकार गरि अगाडि बढौं ।

References-
1. Dundiraj Bhandari “The Origins of Nepal: A Developmental Historical Analysis” 1989

सामाजिक अभियन्ता सरोज रायको फेसबुकबाट