• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
मलाई जवाफ देऊ आमा

अशरफ राईन
मलाई एउटा प्रश्नको जवाफ चाहियो आमा
तिम्रा दुई सन्तानलाई हेर्ने दृष्टिकोण एक छ भने
मलाई हेर्ने दृष्टिकोण फरक किन आमा ?
तिम्रा ती दुई सन्तानमाथि फूलको बरसात हुन्छ भने
ममाथि गोलीको बौछार किन आमा ?
मलाई सौतेलालाई गर्ने झैं किन व्यवहार हुन्छ आमा ?
के म पनि तिम्रै सन्तान होइन र ?
के म पनि तिम्रो कोखबाट जन्म लिएको होइन र ?
आमा,
मलाई जवाफ चाहियो आमा
मलाई मेरो प्रश्नको सटीक उत्तर चाहियो आमा
जब तिम्रा दुई छोराले बराबरको अधिकार लिन्छ भने
मलाई त्यहि अधिकारबाट किन बञ्चित गरिदैछ आमा ?
यसो हुँदा,
मेरो मुटु फाट्छन्
मेरो मन जल्छ
मेरो मस्तिष्क कड्किन्छ अनि
म पागल हुन्छु
आफ्नो हकको लागि
आफ्नो अस्तित्वको लागि र
फेरी उत्रन्छु सडकमा
तिनै शोषणको विरुद्धमा तर
शान्तिपूर्ण आंदोलन गर्दै गर्दा
तिम्रा ती अत्याचारी सेवकहरुले
हान्छन् खोजी खोजी
मेरै छाती टाउकोमा गोली
त्यसैले अब म निराश भएको छु ।
के आफ्नो अधिकार माग्नु अपराध हो र ?
आमा,
तिम्रा ती भारेदारहरुले गरेका अन्यायहरु अब म सहनै नसक्ने भए
जब आफ्नै परिवारमा बराबरको अधिकार छैन्
हेर्ने दृष्टिकोण फरक छ
आफ्नै कोखबाट जन्माएका तीन सन्तान मध्ये
एकलाई पराया ठान्छ
तब तिमी नै भन
म कसरी बसुँ त्यै परिवारसंग मिलेर ?
आँमा,
तिमीसँग एउटै बिन्ती छ
जो पुर्ख्यौली सम्पति छन्
त्यसलाई भागबण्डा गरेर
मेरो हिस्सा पर्ने सम्पति छुट्याई देऊ
जे जति छ म त्यसमै रमाउने छु
सुख, दुःखसँग लड्ने छु
तर म शान्त र सुन्दर एउटा
आफ्नै छुट्टै संसार बसाउने छु ।

सिनुरजोड़ा , धनुषा (हालः दोहा, कÞतार)