राजविराज, ४ चैत । सरकारले विहीवारदेखि गाउँपालिका, नगरपालिका र जिल्ला समन्वय समिति कार्यान्वयनको कामलाई अगाडि बढाएपछि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सप्तरीले कार्यान्वयन नगर्न आग्रह गरेको छ ।
मोर्चाका जिल्ला संयोजक दिनेश कुमार यादवले विहीवार प्रेस विज्ञप्ति जारी गर्दै स्थानीय निकासँग यस्तो आग्रह गरेका हुन् । ‘सरकारले गरेको स्थानीय तह पुर्नसंरचनालाई मोर्चाले कदापी स्वीकार्य गर्ने छैन् तर सप्तरी जिल्लामा स्थानीय तह पुर्नसंरचना कार्यान्वयन गर्न शुरु भएपछि हामी सशंकित भएका छौं’ प्रेस विज्ञप्तिमा भनिएको छ ‘हामीले स्वीकार नगरेको स्थानीय तहलाई कार्यान्वयन गर्न थालेपछि मोर्चाद्वारा जिविस र राजविराज नगरपालिकाको कार्यालय प्रमुख र प्रशासन शाखामा तालाबन्दी गर्दै स्थानीय तह पुर्नसंरचनालाई कार्यान्वन नगर्न आग्रह गरेका छौं ।’ सम्पूर्ण गाविस र नगरपालिका प्रमुख र नगर वडा कार्यालयहरुमा तालाबन्दी गर्न आग्रह गर्दै निर्वाचनसँग सम्बन्धित कुनै पनि कार्यक्रमलाई अगाडि बढाउन नदिन समेत मोर्चाले सप्तरीवासीसँग अपिल गरेको छ ।
नेपाल सरकारले जारी गरेको संविधान मधेशी, आदिवासी, जनजाती, थारु, मुस्लिम लगायतका अल्पसंख्यक समुदायको अधिकार खोसिएको ठहर गर्दै त्यसै सिलिसिलामा सरकारले स्थानीय तहको पुर्नसंरचना गरी संघीयतालाई नै खतम गर्ने खेलमा लागेको मोर्चाको आरोप छ । परिमार्जित संविधान संशोधन नगरी गरिने कुनै किसिमको चुनाव हुन नदिने मोर्चाको माग रहेको भन्दै सरकारले २०७४ बैशाख ३१ गते घोषणा गरेको चुनावलाई हामी कुनै पनि हालतमा हुन नदिने निर्णय समेत गरेको मोर्चाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।