राजविराज, २ चैत्र । शान्तिपूर्ण, अहिंसात्मक तथा असहयोग आन्दोलनलाई निर्णायक बनाउन संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सप्तरीले विभिन्न निर्णय गरेको छ ।
मोर्चाका संयोजक दिनेश कुमार यादवको अध्यक्षतामा बसेको बैठकले आनदोलनका क्रममा सहादत प्राप्त गरेकाहरुको सम्मानमा चैत्र २ गतेबुधवारदेखि १२ गते सम्म जिल्लाका प्रमुख स्थानहरु कञ्चनपुर, भारदह, हनुमाननगर, राजविराज, सखडा, पत्थरगडा, पातो, रुपनी, कठौना, विष्णुपुर र वोदेवर्साइन सहितका स्थानहरुमा शोकसभाको आयोजना गरी शोक सभा मनाउने निर्णय गरेको हो । चैत्र १३ गते गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रमा जिल्ला स्तरीय श्रद्धाञ्जली सभाको आयोजना गर्ने उक्त श्रद्धाञ्जली सभामा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा निकट दलका राष्टिय अध्यक्षहरुको उपस्थिति हुने निर्णय गरेको छ ।
स्थानीय स्तरमा अन्य विरोधका कार्यक्रमहरुमा पुतला दहन, दीप प्रज्वलन, विरोध सभा, र्याली, भण्डाफोर अभियान जारी राख्ने निर्णय गरेको संयोजक यादवद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । मोर्चा सप्तरीले शहीद परिवारलाई किरिया खर्च वापत प्रति परिवार एकाउन्न हजारको दरले दिने निर्णय गरेको छ । मधेश आन्दोलनको शहीद परिवार तथा घाइते कोष स्थापना गर्ने निर्णय गरेको तथा सोही निर्णय अनुसार शहिद परिवारलाई रकम समेत उपलब्ध गराईसकेको प्रेस विज्ञप्तिमा जनाईएको छ ।