• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
सप्तरी घटनाको वास्तविकताः दोषी को ?
धीरेन्द्र प्रसाद साह

धीरेन्द्र प्रसाद साह

गत सोमवार सप्तरी जिल्लामा जुन प्रकारको घटना भयो । त्यसले सबैलाई स्तब्ध बनाएको छ । शोकाकुल तराई मधेश यसलाई शक्तिको रुपमा प्रदर्शन गरिरहेका छन । यस घटनाले राजनीतिक पराकम्पन बढेको छ । घटना पछिको राजनीतिक पराकम्पनले गठबन्धन सरकार र स्थानीय तहको निर्वाचन वातावरणमा प्रभाव पर्न सकिने संभावना बढेको छ । कसैले एमालेको हठ त कसैले मोर्चाको अलोकतान्त्रिक व्यवहारले घटना भएको भनिन्छ भने कसैले सुनियोजित पनि भन्ने गरिन्छ । घटनालाई जसले जे भनेपनि घटना क्रुर अमानवीय दुःखद, निन्दनीय हो । व्यापक रुपमा मानवअधिकारको उल्घंन भएको छ ।

साढेको जुधाइ गोरुको मिचाई भनाइ यहाँ सान्दर्भिक लाग्छ । अनेकौ प्रतिकूलताका बाबजुद एमालेले सुरु गरेको मेची महाकाली राष्ट्रिय अभियान सप्तरीको सदरमुकाम पुगेर विशाल जनसभा गरेरै छाड्ने अडान र संयुक्त मधेसी मोर्चाले त्यसलाई कुनैपनि हालतमा सफल हुन नदिन थालेको प्रतिकारात्मक गतिविधिले यस्तो घटना भएको हो । एमालेका सप्तरी नेता तथा कार्यकर्ताहरुले अभियान सफल पार्न जति सक्रियता बढाउँदै थियो, त्यसलाई विफल पार्न मधेसी मोर्चाले पनि विभिन्न अवरोधका गतिविधिलाई तीब्रता दिदै आएको थियो । त्यसक्रममा एमाले नेतालाई कालोमोसो, गाडीमा आक्रमण, प्रचारप्रसारमा अवरोध पु¥याउने कार्यसम्म भएको थियो । यसको जानकारी एमालेका शिर्षस्थ नेतामा भएकै हुनु पर्दछ । राजनीतिकमा हठभन्दा विवेक प्रयोग गरेर अवस्था अनुसार चल्नु नै बुद्धिमानी हुन्छ । घटनापछि एमाले पार्टीले सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारा जिल्लामा निर्धारित मधेस अभियानका कार्यक्रम स्थगित गरेर हेटौंडाबाट पुनः निरन्तरता दिएको छ । यो निर्णय अभियानको दोश्रो दिन सुनसरीमा भएको दुव्र्यवहारबाट पाठ सिक्नु पथ्र्यौ । तर, त्यसलाई झिनोमसिनो अवरोघ र कालो झण्डा तथा दुव्र्यवहार गर्दैमा एमाले डराउने पार्टी होइन भनेर अगाडी बढे । हुन त एक दलले अर्काे दलको कार्यक्रमलाई निषेध गर्नु हुदैन भन्ने लोकतान्त्रिक मूल्य र मान्यता होे ।
गम्भीर कुरा, एमाले अभियान सप्तरीमा पूर्व निर्धारित कार्यक्रम अनुसार भारदहदेखि हनुमाननगर हुदै राजविराजको राजरंगशालामा विशाल जनसभा गर्ने कार्यक्रमलाई स्थानीय प्रशासनले सुरक्षा दृष्टिकोणले अप्ठ्यारोमा पर्न सक्ने पूर्व अनुमान गरियो । र, आयोजकसँगको छलफल तथा सल्लाहमा भारदह–कञ्चनपुर–रुपनी हुदै गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा कार्यक्रम गर्ने निधो गरियो । यसरी कार्यक्रमको रुट तथा स्थल परिवर्तन गर्नुपर्ने कारण गहिरिएर अध्ययन अनुसन्धा नै नगरी प्रहरी प्रशासनको दम्भमा कार्यक्रम गरेरै छाडिने र गरियो । मोर्चाको व्यापक अवरुद्ध पश्चात कडा सुरक्षा घेराभित्र अभियान पनि भयो । मानवीय क्षती भयो । दुबै पक्ष आंशिक रुपमा सफल भए तर, कुन पक्षलाई कति फाइदा भयो, यो नै गर्भको विषय हो ।
एमाले अभियानलाई एक दुई साताको प्रयासले अवरोध गर्न उत्साहित भएको होइन । एमालेका अध्यक्ष केपीशर्मा ओली प्रधानमन्त्री हुँदादेखि अहिलेसम्म बोल्दा शब्द चयनमा ध्यान तथा यसको प्रभावमा विचार नपु¥याएर दिएको अभिव्यक्ति र मधेसी मोर्चाको मागको सम्बन्धमा देखाएको कठोर राजनीतिक रणनीति नै मधेस र मधेसीको आत्मसम्मानमा पु¥याएको चोट बन्दुकको गोली भन्दा घातक बन्न पुगेको छ । यसको फाइदा उठाउँदै मोर्चाले आममधेशीको नशामा उक्त विचार र राजनीतिक रणनीति प्रवाह गर्ने काम गरेको छ । नशामा रगत झै बगेको ओली विरोधी भावना र त्यसको परिणाम एमालेले आकंलन गर्न सक्नुपथ्र्यो । त्यो नगरेको कारण अभियान तीन दिन पूरा नहुदै प्रदेश नम्बर २ को प्रवेशद्वारमै प्रदेश नम्बर २ सम्मको अभियान तत्काल स्थगित गर्नु प¥यो ।
विगतमा ओलीले बालुवाटार बैठकमा मोर्चाका नेताहरुलाई भनेका थिए–समथर भूभाग जति सबै मधेस प्रदेश बनाउने हो भने युपी विहार पनि समथर छ, त्यो पनि चाहियो भन्ने ? मेरो घरको आँगन पनि समथर छ, त्यो पनि मधेस भन्ने ? मोर्चाका सांसदलाई आँपको संज्ञा दिए । संविधान जारी गर्ने बेला मधेसमा आन्दोलन जोडतोडले चर्केका थिए । प्रहरीको गोलीले मधेसी मरिरहेको थियो । त्यसबेला केही सांसदले बहिस्कार गरेको घटनालाई ओलीले रुखबाट एक दुई वटा आँप झर्दैमा केही फरक पर्दैन भने अभिव्यक्ति दिए । हुलाकी राजमार्गको मानव साङ्लोलाई माखे साङ्लो भने । आँप, युपी विहार र माखे साङलो जस्ता अभिव्यक्तिले ओलीलाई मधेस विरोधी नेताको रुपमा परिचित गराइयो र भयो । एमाले नेतृत्वले मोर्चालाई केन्द्रित गरेर मधेस र मधेसीका सन्दर्भमा दिएका यस्ता अभिव्यक्तिले सबै मधेसीको चित्त मात्र दुखाएको छैन । यसले व्यापक आक्रोश बढाएको छ । आक्रोश पोख्ने अवस्थाको खोजीमा मधेसी थिए । आक्रोशलाई मत्थर पार्न एमालेमा राजनीतिक रणनीति अभाव देखियो । नेतृत्वले गम्भीरतापूर्वक लिएर अभियानको सुरुमै खण्डन गरेर क्षमायाचना गरेको भए चोटमा मलहमको काम गरिन्थ्यो होला । परिणाम आक्रोशित मधेसी जनता ओलीसँगै एमाले पार्टी नै आक्रमणको तारो बन्न पुगे ।
यहाँको परिस्थितिलाई बुझदाबुझ्दै बुझ पचाएर कडा सुरक्षा घेराबीच सप्तरीको राजविराज सदरमुकारदेखि करिब ३ किलो मिटर उत्तर बसबिट्टि गाविस स्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा २०७३ फागुन २३ गते सोमबार एमालेले थालेको अभियान अन्तर्गत जनसभा गरे । सुरक्षाका कारण सर्वसाधारणको प्रवेशमा पूर्ण रोक लगाएको थियो । जनसभा भनिएपनि कार्यकर्ता र नेता सभामा समिति रह्यो । त्यो सभा बिथोल्न प्रतिकारमा उत्रिएका मधेसी जनता र मोर्चाका कार्यकर्ता तथा नेतालाई कार्यक्रम स्थलदेखि करिब २०० मिटर टाढै रोकेको थियो । त्यहीबाट तिनिहरुले विरोधका स्वरसँगै सुरक्षा घेरा तोडेर अगाडि बढ्न प्रयास गर्दा प्रहरी र मोर्चाबीच पटक–पटक ढुङ्गा, माटोको डल्ला हानाहान झडप भइरहे । भीडलाई नियन्त्रण गर्न प्रहरीले लाठी चार्ज, सयौ राउण्ड अश्रु ग्यास फायर गरे । तर, भीडलाई नियन्त्रण गर्न पानीको फोहरा दिन त्यहाँ राखिएको प्रहरीले बारुणयन्त्रको प्रयोग गरिएन ।
कार्यक्रम सुरु अगाडीदेखि समापनसम्म करिब चार घण्टासम्म मोर्चा र प्रहरीबीच झडप चलेको थियो । औद्योगिक क्षेत्रमा अभियान प्रवेश गर्ने बेलासम्म मोर्चा कार्यकर्ताहरु करिब गलिसकेका थिए । मोर्चाका मुख्य नेताहरुलाई बिहानै प्रहरीले नियन्त्रणमा लिइसकेको थियो । प्रहरीसँग झडपमा गलिसकेका कार्यकर्ताहरु घर फर्किने सुरमा थिए । स्थिति लगभग सामान्यजस्तै बनिसकेको थियो । मोर्चा कार्यकर्ताहरु एकै ठाउँमा बसिरहेका थिए भने अन्य प्रदर्शनकारी कोही गहुँको खेत त कोही डगरबाटोमा बसेर भाषण सुन्नेतिर केन्द्रित थिए । दिउँसो करिब ४ः०० बजे अभियान औद्योगिक क्षेत्रमा पुगेर भाषण सुरुभएपछि छिटोछिटो सकिने हतारमा देखिन्थ्यो । नेता माधव नेपाल बोलिरहँदा बाहिर सुरक्षार्थ तैनाथ प्रहरी भएतिरबाट मुखमा मास्क लगाएका एमाले कार्यकर्ताहरुले एक्कासी चार÷पाँच जनाको संख्यामा आए र मोर्चा कार्यकर्ता भएतिर ढुंगा हान्न शुरु गरियो । एमाले कार्यकर्ताहरुले करिब पाँच मिनेटसम्म मोर्चातिर ढुंगा हानेपछि प्रहरीले केहीलाई हटाए । तर, पनि एमाले कार्यकर्ताहरुले ढुंगा हानिरहे ।
एमाले कार्यकर्ताले ढुङ्गा फ्याँकेपछि गलिएका प्रदर्शनकारीले पनि जवाफी ढुङ्गा प्रहार गरे । ढुङ्गा लागेर चार जना प्रहरी घाइते भएपछि प्रहरी कडा रुपमा प्रस्तुत भई प्रहरीले अश्रुँ ग्यास प्रहार शुरु गरेको थियो । प्रदर्शनकारी प्रतिकारात्म रुपमा प्रस्तुत भइरहदा त्यसैबेला ओलीको भाषण सुरु भयो । दिमागमा ओली विरोधी भावनाले ओतप्रोत प्रदर्शनकारीलाई ओलीले सुरु गरेको भाषण आगोमा ध्यू थप्ने काम गरे । प्रदर्शकारी अगाडी बढ्दै गएपछि प्रहरीले हवाई फायर पनि र व्यक्तिलाई ताकेरै गोली चलायो ।
प्रहरीले गोली चलाउँदा कसैको पेट, कसैको टाउको, कसैको छाती र शरीरको अन्य भागमा गोली लाग्यो । प्रहरीले चलाएको गोली टाउकोमा लागेर मलेठ गाविस ३ का २५ वर्षीय पान व्यवसायी सञ्जन मेहताको घटना स्थलमा, छातीमा गोली लागेका मलेठ गाविस ४ का ५५ वर्षीय घर रंगरोगन गर्ने पिताम्बर मण्डलको उपचारका लागि धरान लग्दै गर्दा बाटोमा र प्रसवनी गाविस–४ का ४० वर्षीय सिअहेब (स्वास्थ्यकर्मी) स्थायी कर्मचारी आनन्दकुमार साहको धरानमा उपचारको क्रममा सोही दिन ज्यान गयो । घरानमै उपचारको क्रममा २५ गते मलेठ २ का ३२ वर्षीय कृषक विरेन्द्र मेहता र २७ गते जमुनी मधेपुरा गाविस–१ कौटवी टोल बस्ने ५५ वर्षीय कृषक इनर यादवको ज्यान गयो । ज्यान गएकाहरुको राजनीतिक पृष्ठभूमी छैन । नत कुनै दलसँग आवद्धता देखिएको छ । विचार र आस्थाले मोर्चा वा एमालेको समर्थक पनि हुन सक्दछ ।
लोकतन्त्रलाई स्वीकार गरेपछि लोकतान्त्रिक मूल्य र मान्यताका आधारमा सबैले हिड्नु पर्छ । आफु अनुकूल हुँदा लोकतन्त्र नत्र होइन, जस्ता अलोकतान्त्रिक चरित्रका प्रबृति त्याग्नु पर्दछ । लोकतन्त्रमा एमाले होस या मोर्चा वा अन्य सबैले स्वतन्त्रपूर्वक लोकतान्त्रिक मूल्य मान्यता र सिद्धान्तको आधारमा कार्यक्रम गर्न पाउनुपर्छ । यो नै सर्वमान्य सिद्धान्त र संबैधानिक अधिकार हो । यसलाई सबैले मान्नु पर्छ । अभिव्यक्ति स्वतन्त्रतालाई उपयोग गर्दा अरुको आत्मसम्मानमा कहि कसैबाट चोट चाहि पु¥याउनु हुदैन । विचारको राजनीतिकलाई बिचारबाटै परास्त गर्नुपर्छ । हठ, बल, हिंसा तथा निषेधको राजनीतिक लोकतन्त्रको लागि खतराको संकेत हो । लोकतान्त्रिक पक्षधरहरुले यसलाई बुझनु आवश्यक छ । शान्तिपूर्ण रुपमा भेला हुने, राजनीतिक गतिविधि गर्ने संवैधानिक अधिकारलाई कुण्ठित नगर्न र संयमतापूर्वक राजनीतिक गतिविधि गर्न सम्पूर्ण राजनीतिक दललाई बुझनु पर्दछ ।
(लेखक साह, नेपाल पत्रकार महासंघ शाखा सप्तरीका निवर्तमान अध्यक्ष हुनुहुन्छ ।)