राजविराज, २७ फागुन । सप्तरीको मलेठ गाउँ विकास समिति स्थित राजविराज–रुपनी सडकखण्डमा विहीवार राती एक यात्रुवाहक बसमा आगजनी गरिएको छ ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ता तथा आक्रोशित स्थानीयवासिन्दाले वीरगञ्जबाट राजविराजतर्फ आउँदैगरेको ना. ५ ख ६७१३ नम्वरको स्वस्तिका डिलक्स बसमा आगजनी गरेका हुन् । विरगञ्जबाट करिब तीन सय लिटर पेट्रोल र एक सय पचास लिटर डिजलसमेत बोकेको उक्त गाडीबाट यात्रुहरुलाई ओरालेर आगजनी गरेको जनाईएको छ ।
आगजनीबाट उक्त बसको सम्पूर्ण भाग जलेर पूर्ण रुपमा नष्ट भएको छ । बन्दलाई अवज्ञा गर्दै पेट्रोल डिजेल तस्करी गरिएको पाईएकोले आगजनी गरिएको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सप्तरीले जनाएको छ ।
