राजविराज, २६ फागुन । सप्तरीको मलेठ नहर चौक नजिक प्रदर्शनकारीहरुले राष्ट्रिय मानवअधिकार आयोगको गाडीमा विहीवार तोडफोड गरेका छन् ।
राजविराज–रुपनी सडकखण्डमा टायर बालेर प्रदर्शन गरिरहेका प्रदर्शनकारीहरुले आयोगको बा ७ च ७४७९ नम्बरको गाडीमा तोडफोड गरेका हुन् । आयोगकी सदस्य एवं प्रवक्ता मोहना अन्सारी नेतृत्वमा पूर्व क्षेत्रीय निर्देशक झङ्गरबहादुर रावललगायतका व्यक्तिहरु सवार उक्त गाडीमा सवार थिए । तोडफोडबाट गाडीको सिसा फुटेको प्रहरीले जनाएको छ ।
यसअघि मङ्गलवार समेत राजविराज आएको आयोगको गाडीमा मोर्चा कार्यकर्ताहरुले तोडफोड गरेका थिए । एमालेको टोलीसँगै आएको आयोगको टोली प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाईरहँदा तथा बस्तीका घरहरुमा पसेर प्रहरी दमन गरिरहेको समयमा भाषण सुनेर बसेको भन्दै मोर्चा आक्रोशित भएका छन् ।