• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
प्रहरी दमनको सर्वत्र भत्र्सना एवम् निन्दा

राजविराज, २४ फागुन । सप्तरीको मलेठमा प्रहरी दमनमा तीन जनाको मुत्यु तथा तीन दर्जनभन्दा बढी घाइते भएको घटनाको सर्वत्र घोर निन्दा गरिएको छ ।
नेपाली कांग्रेसका सांसद सकलदेव सुतिहार र सांसद रञ्जित कुमार कर्णले मङ्गलवार छुट्टाछुट्टै प्रेस विज्ञप्ति जारी गरी घटनाको कडा शब्दमा निन्दा गरेका छन् । एमालेको राष्ट्रिय अभियानको नाममा स्वाधिनतामाथि नै खलल पुर्याउने काम भएको भन्दै एमालेलाई उग्र राष्ट्रवादको नाममा कुनै पनि जिल्लामा अराजक गतिविधि एवम् कार्यक्रममा नगर्न आग्रह गर्दै सांसदद्वयले घटनाको छानबिन गरी दोषी उपर कार्वाहीको माग गरेका छन् ।
यस्तै नेकपा माओवादी केन्द्रका नेता एवम् सप्तरी क्षेत्र नम्वर–१ का सांसद मानपुर चौधरीले घटनाको भत्र्सना गर्दै दोषीमाथि कडा कार्वाही गर्न माग गरेका छन् । राजविराज उच्च अदालत बार एसोसिएसनका अध्यक्ष विजयकुमार यादव र सप्तरी जिल्ला अदालत बार एकाईका अध्यक्ष रामप्रसाद चौधरीले मङ्गलवारै संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै प्रहरी दमनको कडा शब्दमा भत्र्सना गरेका छन् । हर्ष र उल्लासको महोत्सव होली पर्वको संघारमा रगतको होली खेल्नी हत्याराहरुलाई कडा कार्वाही गर्न माग प्रेस विज्ञप्तिमार्फत माग गरेका छन् ।
यसैगरी नेपाली कांग्रेस सप्तरीका कार्यालय सचिव भूपेन्द्र नारायण यादवले घटनाका दोषीलाई कडा कार्वाहीको माग गर्दै शान्तिपूर्ण आन्दोलनमा प्रहरी हस्तक्षेप बन्द गर्न आह्वान गर्दै मृतकलाई शहिद घोषणा, पीडित परिवारलाई क्षतिपूर्तीको माग गरेका छन् । नेपाल पिछडावर्ग महासंघका केन्द्रीय प्रवक्ता उपेन्द्र प्रसाद साहले घटनाको भत्र्सना गर्दै दोषीमाथि कार्वाहीको माग गरेका छन् । मधेशी मोर्चा सप्तरीका प्रवक्ता भगवती प्रसाद यादवले घटनाको भत्र्सना गर्दै सम्पूर्ण मधेशी सांसदलाई संसदबाट राजिनामा दिई सडक संघर्षमा आउन आग्रह गरेका छन् ।
यसैगरी गैरसरकारी संस्था महासंघ सप्तरीका अध्यक्ष शम्भुनन्द चौधरी, मानव अधिकार तथा सामुदायिक विकास प्रतिष्ठान (हुकोडन)का अध्यक्ष सुरेन्द्र प्रसाद यादव, मानव अधिकार तथा जन वकालत केन्द्र हुपेकका अध्यक्ष धर्मेन्द्र प्रसाद यादव र डब्लुएचआर सप्तरीकी अध्यक्ष अनिता देवकोटाले संयुक्त प्रेस विज्ञप्ति मार्फत घटनामा मानव अधिकारको घोर उल्लंघन भएको भन्दै दोषीको पहिचान गरी कार्वाही गर्न माग गरेका छन् । यस्तै मानव अधिकार तथा सामाजिक रुपान्तरण अभियान नेपाल शाखा सप्तरीका अध्यक्ष पुण्य प्रसाद यादवले मङ्गलवारै एक प्रेस विज्ञप्ति जारी गर्दै उच्चस्तरीय छानबिन आयोगद्वारा छानविन गरी गोली हान्न आदेश दिने, ज्यान लिने दोषी प्रहरीमाथि अविलम्व कडा कार्वाही गर्न जोडदार माग गरेका छन् ।
यस्तै जिल्ला मतदाता अधिकार मञ्च सप्तरीका संयोजक पार्थो सरकार र नेपाल तरुण दल सप्तरीका सभापति सिता प्रसाद यादवले संयुक्त प्रेस विज्ञप्तिमार्फत घटनाको भत्र्सना गर्दै दोषीमाथि कार्वाहीको माग गरेका छन् ।