राजविराज, २४ फागुन । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सप्तरीको मङ्गलवार बसेको आकस्मिक बैठकले मृतकहरुलाई शहिद घोषणा सहित ६ बुँदे निर्णय गरेको छ ।
प्रहरीको गोलीबाट मारिएका तीनै जनालाई सहिद घोषणा, परिवारलाई राहत तथा पीडित परिवारका एक जना सदस्यलाई सरकारी जागिर, घाइतेहरुको उपचार खर्च राज्यले ब्यहोर्नुपर्ने, मलेठ घटनाको उच्च स्तरीय समावेसी न्यायीक छानबिन आयोग गठन गरी त्यस मार्फत छानबिन गराई दोषीहरुमाथि कडा कारबाही गर्नुपर्ने मोर्चाले माग गरेको छ । सप्तरीका सिडिओ, नेपाल प्रहरीका एसपी र डिएसपी, सशस्त्र प्रहरीका एसपीको निलम्वन, परिमार्जनसहितको संविधान संशोधन प्रस्ताव तत्काल पारित गर्न र उद्योगविहिन गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रमा बल्ल तल्ल उद्योग सञ्चालन गर्न सुरु भएको अवस्थामा औद्योगिक क्षेत्रमा राजनीतिक कार्यक्रमको आयोजना गर्न अनुमति दिनेमाथि कार्वाही गर्न माग मोर्चाको बैठकले माग गर्ने निर्णय भएको मोर्चाका जिल्ला संयोजक दिनेश कुमार यादवले माग गरेको छ ।
सोही बैठकले जिल्लाका सम्पूर्ण सरकारी कार्यालय, शैक्षिक संस्थान, यातायात, उद्योग ब्यवसायसहित अनिश्चितकालिन आमहड्तालको घोषणा गरिएको भन्दै सहयोग गर्न सबै पक्षसँग आह्वान गरेको छ। नेकपा एमालेका समर्थकहरुलाई सप्तरी जिल्लामा सामाजिक बहिष्कार गर्न आब्हान गरेको छ । प्रहरीको गोली प्रहारबाट मोर्चाका १५ भन्दा बढी नेता तथा कार्यकर्ता गम्भीर रुपले घाइते भएको तथा ५० भन्दा बढी घाइते भएको मोर्चाले आधिकारिक पुष्टि गरेको छ ।
मोर्चा संयोजक यादवका अनुसार शान्तिपूर्ण विरोध प्रदर्शनमा प्रहरीको गोली लागेर मलेठ गाविस–२ का सञ्जन मेहता, मलेठ– ४ का पिताम्बर लाल मण्डल र प्रसबनी गाविसको टेंगरीका आनन्द साहको मृत्यु भएको छ । राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारी तथा कर्मचारीहरु आन्दोलनस्थलमा नगई एमाले अध्यक्ष केपी ओलीको भाषण सुन्नमा ब्यस्त रहेको भन्दै संयोजक यादवद्वारा प्रेषित विज्ञप्तिमा अगाडि भनिएको छ ‘यसअघि एमालेका एक जना कार्यकर्तालाई कालोमोसो दलिएको घटनाको तत्कालै विज्ञप्ति जारी गरेको राष्ट्रिय मानव अधिकार आयोगले तीन जनाको हत्या तथा ५० भन्दा बढी ब्यक्ति गम्भीर घाइते भईसक्दा पनि आयोगको ध्यानाकर्षण नभएकोप्रति खेद प्रकट गर्दै आयोगको काम कारबाहीप्रति घोर भत्र्सना गर्दछौं ।’