• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

ओलीको कार्यक्रम बिथोल्न मोर्चाको भव्य तयारी, विहानैदेखि प्रदर्शन, समान्य झडप, एक दर्जन पक्राउ

ओलीको कार्यक्रम बिथोल्न मोर्चाको भव्य तयारी, विहानैदेखि प्रदर्शन, समान्य झडप, एक दर्जन पक्राउ

राजविराज, २३ फागुन । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा सम्वोधन हुने कार्यक्रमलाई बिथोल्नकालागि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा व्यापक तयारीकासाथ सडकमा उत्रेका छन् ।
एमालेले मेची महाकाली राष्ट्रिय अभियानका क्रममा राजविराजमा ओलीको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना गर्ने निर्णय गरेको थियो । मोर्चाले ओली मधेश विरोधी भएको भन्दै कुनै पनि हालतमा कार्यक्रम आयोजना हुन नदिने अडानका साथ विगत सातादेखि विभिन्न संघर्षका कार्यक्रहरु गर्दैआएका कारण सम्भावित मुठभेडको अवस्थालाई मध्यनजर गर्दै जिल्लाको सदरमुकाम राजविराजसहित भारदह, कञ्चनपुर, रुपनी, हनुमाननगर लगायतका स्थानहरुमा व्यापक संख्यामा सुरक्षाकर्मी परिचाल गरिएको छ ।
यता संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेता तथा कार्यकर्ताहरु हातमा कालो झण्डा तथा टाउकामा कालो पट्टी बाँधेर विहानैदेखि सडकमा प्रदर्शन गरिरहेका छन् । प्रदर्शनका क्रममा राजविराजमा प्रहरी र मोर्चा बीच सामान्य झडप भएको छ ।
यसैक्रममा सप्तरी जिल्लाको विभिन्न स्थानबाट करिब एक दर्जन मोर्चाका नेता तथा कार्यकर्ता पक्राउ परेका छन् । कञ्चनपुरबाट उपेन्द्र यादव र भुवनेश्वर यादव थापा पक्राउ परेका छन् । रुपनीबाट सद्भावना पार्टीका केन्द्रीय सदस्य दिनेश यादव, मुकेश कर्ण, भोगीलाल यादवलगायतका नेता तथा कार्यकर्ता पक्राउ परेका छ् ।
प्रदर्शनकारीहरुले राजमार्गमा यातायातका साधन पनि चल्न दिएको छैन । सप्तरी मोर्चाको बन्दले जिल्लाको जनजिवन समेत प्रभावित रहेको छ । बन्दको अवज्ञा गरेको भन्दै मोर्चाले शम्भुनाथ नगरपालिकामा केही सवारी तोडफोड समेत गरेका छन् । जनाईएको छ । प्रहरीले स्कर्टिङ गरेर राजमार्ग खुलाउने प्रयास गरे पनि मोर्चाको अवरोध यातायातका साधन चलेको छैन् ।
नेकपा एमालेले भने मोर्चाको अवरोधले गर्दा सदमुकाम राजविराजमा हुने कार्यक्रम करिब ५ किलोमीटर उत्तर गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा सारिएको छ । औद्योगिक क्षेत्रमा कडा सुरक्षाका बीच एमालेले मञ्च निर्माण गरेको छ ।
एमाले अध्यक्ष ओली हनुमाननगर–राजविराज हुँदै राजविराज भएर औद्योगिक क्षेत्रमा जाने कार्यक्रम रहे पनि रुट परिवर्तन भएको जनाईएको छ । भारदह, बरमझिया, कञ्चनपुर, रुपनी हुँदै औद्योगिक क्षेत्र प्रवेश गर्ने कार्यक्रम तय भएको श्रोतले जनाएको छ । स्थानीय प्रशासन समेत अप्रिय घटना हुन नदिन व्यापक संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ ।
यता मोर्चाले भने जताबाट आए पनि कार्यक्रम हुन नदिने अडानकासाथ प्रदर्शनलाई जारी राखेका छन् । गाउँगाउँबाट मोर्चाका कार्यकर्ताहरु आउने जारी रहेकोले जनताको व्यापक सहभागिता रहने अनुमान गरिएको छ ।