राजविराज, २२ फागुन । नेकपा एमालेकी सांसद रञ्जुकुमारी झाले लोकतान्त्रिक पद्धतीलाई आत्मसात गर्न आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सप्तरीलाई आग्रह गरेकी छिन् ।
‘न्यूज टुडे’सँग आइतवार कुराकानी गर्दै उनले मोर्चालाई यस्तो आग्रह गरेकी हुन् । लोकतन्त्रमा कुनै पनि पार्टीले स्वतन्त्रपूर्वक सभासम्मेलन तथा आफ्ना विचार राख्न पाउने अधिकार रहेको भन्दै नेकपा एमालेको तराई मधेस लक्षित मेची महाकाली राष्ट्रिय अभियानलाई अवरोध नपुर्याउन उनले आग्रह गरेकी छिन् । चित्त नबुझेको विषयमा आफ्ना असन्तुष्टिलाई लोकतान्त्रिक पद्धती अनुसार नै राख्न आग्रह गर्दै महिला वालवालिका तथा ज्येष्ठ नागरिक समितिकी सभापति झाले भनिन् ‘आम जनता समक्ष आफ्ना कुरा राख्न अवरोध पुर्याउनुलाई कदापि राम्रो भन्न मिल्दैन, त्यसैले सप्तरी मोर्चालाई गम्भीर बन्न आग्रह छ ।’
नेकपा एमाले पार्टी र अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री ओली मधेश विरोधी पार्टी नभएको भन्दै गलत रुपमा व्याख्या गरेर भ्रम छरिएकोले त्यसलाई चिर्नका अभियान सञ्चालन भएको उनले बताईन् । आफ्नो जन्मथलो समेत सप्तरी भएको बताउँदै उनले भनिन् ‘आफ्नै जिल्लामा कुनै अप्रिय घटना होस् यसकालागि म अत्यन्त गम्भीर एवम् चिन्तित छु, मेरै गाडीमा मोर्चाका भाइहरुबाट ढुङ्गामुढा हुनु तथा एमालेका सहकर्मीहरुमाथि अमानवीय व्यवहार गरिनुले दुःख लागेको छु, तथापि हामी अहिलेसम्म संयमित छौं ।’ पार्टी पंक्ति तथा आन्दोलनरत मोर्चालाई संयमित रुपमा प्रस्तुत हुन समेत सांसद झाले आग्रह गरिन् ।