राजविराज, २० फागुन । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले कालोमोसो दल्ने, ज्यानमार्ने धम्की, दुव्र्यवहार र नगद समेत लुटेर लाने गरेको आरोप लगाउँदै नेकपा एमालेले यस्ता कार्य रोक्न र दोषीलाई कारवाही गर्न स्थानीय प्रशासनसँग माग गरेको छ ।
एमालेका जिल्ला अध्यक्ष गोविन्द न्यौपानेले शुक्रवार प्रेस विज्ञप्ति जारी गर्दै मोर्चामाथि आरोप लगाउँदै कार्वाही गर्न स्थानीय प्रशासनसँग माग गरेका हुन् । राजबिराजबाट मोटरसाइकलमा डेरातर्फ जाँदै गर्दा पार्टीका उप–सचिव प्रतापनारायण चौधरीलाई १०—१२ जनाको मोर्चा कार्यकर्ताको समुहले पछाडिबाट आक्रमण गरी कालोमोसो समेत दलेका भन्दै मोर्चा कार्यकर्ताले राजनिति नगर्न र एमाले परित्याग गर्न चेतावनी दिदै भौतिक आक्रमण गर्ने धम्कि समेत दिएको प्रेस विज्ञप्तिमा जनाईएको छ ।
यसैगरी शुक्रवारै अपराह्न १ बजे डेराबाट एमाले पार्टी कार्यालय तर्फ जादै गर्दा पार्टी सचिव शम्भु यादवलाई मोर्चा कार्यकर्ताले पछाडिबाट आक्रमण गरी यादवले बोकेको झोला, त्यसमा रहेको पार्टी दस्तावेज र नगद चौध हजार तीन सय नगद लुटेर लगेको अध्यक्ष न्यौपानेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । मोर्चा कार्यकर्ताले शुक्रवारै सचिव शम्भु यादवको नर्घो ८ स्थित घरमा गई पत्नी इन्दू यादवलाई धम्की दिंदै घरमा आगो लगाईदिने चेतावनी समेत दिएको प्रेस विज्ञप्तिमा जनाईएको छ ।
मोर्चाको नाममा गरिएको उक्त घटनाप्रति आफूहरुको गम्भिर ध्यानाकर्षण भएको भन्दै अलोकतान्त्रिक घटना अत्यन्त निन्दनीय भएको भन्दै खेद व्यक्त गरेको छ । कसैको आस्थामाथि धावा बोल्ने, शान्तिपूर्ण गतिविधिमाथी रोकलगाउन खोज्ने र भौतिक आक्रमण गर्ने धम्की समेत दिने मोर्चा कार्यकर्ताको कायरतापूर्ण ब्यबहारले मुठभेड निम्त्याउने प्रयत्न गरिरहेको विज्ञप्तिमा जनाईएको छ । ‘कसैको आस्थामाथि धावा बोल्ने कार्य र राजनैतिक दलको गतिविधिलाई रोक लगाउन खोज्ने कार्यलाई कदापी लोकतान्त्रिक मान्न सकदैनौ, यो निरंकुशताको पराकाष्ठा हो भन्ने हाम्रो ठहर छ’ प्रेस विज्ञप्तिमा अगाडि भनिएको छ ‘हाम्रो पार्टीले गर्ने शान्तिपूर्ण गतिविधीलाई बाधा नगर्न आग्रह गर्दछौं, हाम्रो पार्टी जस्तोशुकै निरंकुशताको बिरुद्ध लडदै आएको छ, त्यसैले हाम्रो शालिनतालाई कमजोरी नठान्न चेतावनी दिन चाहन्छौ ।’