• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

राजविराजको मुटुमै दिनदहाडै लुटिदैछ सर्वसाधारण

राजविराजको मुटुमै दिनदहाडै लुटिदैछ सर्वसाधारण

राजविराज, १९ फागुन । सावधान तपाई बैंकबाट मोटो रकम झिक्दै हुनुहुन्छ ? यदि हो भने सावधान रहनुहोला, तपाईको रकम लुटिन सक्छ ।
विगत केही महिनायता सप्तरी सदरमुकाम राजविराजमा दिनदहाडै रकम लुटपाट गर्ने क्रम बढेको हो । राजविराजको मुटु मानिने गजेन्द्र चौक जहाँ अधिकांश सरकारी तथा निजी बैंकहरु रहेको छ भने मनी ट्रान्सफर सेवा सञ्चालन हुँदैआएको छ । कहिले आँखामा खुर्सानीको धुलो छर्केर त कहिले लुगामा बिस्कुटको घोल छ्यापेर फोहोर लागेको छ भनी रकम लुछेर तथा रकम भएको व्याग नै झिकेर भाग्ने गरेको छ ।
पछिल्लोपटक मङ्गल समेत राजविराजको मुटु मानिने गजेन्द्र चौकबाटै एक व्यक्ति फिल्मी शैलीमा लुटिएका छन् । सप्तरीको बेल्ही चपेना गाउँ विकास समिति वडा नम्वर–८ का ५० वर्षिय प्रभुनारायण साह यसरी नै लुटिएका छन् । नेपाल बैंक लिमिटेडबाट दुई लाख तीस हजार रुपैयाँ झिकेर उनी गजेन्द्र चौक हुँदै घरतर्फ गईरहेका थिए । दिउँसो १.४६ बजेको समयमा खान अटो मोबाइल्स अगाडिबाट साइकल चढेर जाने क्रममा केही दश रुपैयाँका नोटहरु छरिएको थियो । लुटेरा गिरोहमध्येका एक व्यक्तिले ‘ दाइ, तपाईको पैसा झरेको छ’ भनी साहलाई भने तर उनले साइकलको गती कम गर्दै ‘मेरो पैसा होइन’ भन्दै अगाडि बढे । साइकलको गती कम भएको मौका छोपी अन्दाजी ४० वर्षका एक व्यक्तिले सनपाटको सुतली साइकलको चक्कामा अड्काई दिए । करिब पाँच–सात मिटर अगाडि बढेपछि साइकलको चक्कामा सुतली फँसेपछि उनले साइकल रोके । रकम भएको झोला साइकलको ह्याण्डिलमा झुण्ड्याएर प्रभुले चक्कामा फँसेको सुतली छुटाउन थालेपछि झोला लिएर लुटेरा गिरोह फरार भयो । उनी ‘मेरा झोला लुटेर भाग्यो’ भनी गुहार माग्दै रहे । केही सेकण्डकै अन्तराल लुटेरा फरार भए ।
आफू लुटिएकोबारे उनले राजविराज स्थित जिल्ला प्रहरी कार्यालयमा उजुरी समेत दिएका छन् । उनी लुटिएको भिडियो खान अटोमोबाइल्सले जडान गरेको सीसी टिभी क्यामेरामा कैद भएको छ । क्यामरामा कैद भएको भिडियो अनुसार एक जना सुराकी गरिरहेको देखिन्छ । लुटपाटमा संलग्न गिरोहमा संलग्नहरुको भिडियो क्यामरामा कैद छ । लुटपाटको भिडियो प्रहरीले अहिले गोप्य राख्न भनेको पीडितले जानकारी दिएका छन् । लुटपाटको पोख्त प्रमाण उपलब्ध रहे पनि प्रहरीले हालसम्म कसैलाई पक्राउ गर्न नसकेको जनाईएको छ ।
रकम लुटपाटका घटनाहरु बारम्बार दोहोरिने गरिएको छ । हालसम्म वैदेशिक रोजगारीमा रहेकाहरुले पठाएको रकम झिकेर फर्किने क्रममा महिलाहरु लुटिएका छन् । यस्तै स्थानीय बैंकहरुबाट रकम झिकेर गन्तव्यतर्फ लाग्ने क्रममा लुटिएको पाईएको छ ।
यसरी लुटिन्छ रकम
सरकारी र तथा निजी बैंकहरुका साथै मनी ट्रान्सफरबाट रकम झिकेर फर्किने क्रममा लुटेराले मुखमा बिस्कुट घोलेर पछाडिबाट लुगामा थुकिदिने गर्छन् । अनि रकम बोकेका व्यक्तिलाई ‘तपाईको लुगामा दिसा वा फोहोर लागेको छ’ भन्ने गर्छन् । लुगामा लागेको फोहोर सफा गर्न ट्युवेल भएको ठाउँमा जान्छन् । साथमा रहेको व्याग राखेर लुगाको फोहोर धुने क्रममा लुटेराले रकम भएको व्याग लिएर फरार हुन्छन् ।
यस्तै गाउँबाट आएका महिलाले बैंक वा मनी ट्रान्सफरबाट रकम झिकेर मनी ब्यागमा राखी हातमा बोकेर जाने क्रममा पछाडि ब्याग लुछेर भाग्ने गर्छन् । रकम झिकेर जाने क्रममा लुटेराले खुर्सानी वा मसलाको धुलो आँखामा छर्केर रकम लुट्ने गर्छन् ।
बाटोमा कागजी नोटहरु छर्पस्ट छरेर ‘तपाईको पैसा झरेछ’ भन्ने गरिएको छ । यदी तपाई लोभमा पर्नु भो र नोटहरु टिप्न थाल्नु भो भने त्यसैको मौका छोपी साथमा रहेको रकम लुछेर भाग्ने गर्छन् । यस्तै बैंक वा मनी ट्रान्सफरबाट रकम झिकेर बाहिर गन्ती गर्ने क्रममा लुछेर भाग्ने गरेको पाईएको छ । यस्तै मोटो रकम झिकेर गाउँ फर्किने क्रममा एकान्तको मौका छोपी बीच बाटोबाटै लुटिने घटनाहरु समेत जिल्लामा भएका छन् ।