राजविराज, १८ फागुन । ‘राजविराज जाऔं, कालो झण्डासहित विरोध प्रदर्शन गरौं’ भन्ने नाराका साथ आगामी २३ गते संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले प्रदर्शन गर्ने भएको छ ।
मधेश र मधेशीलाई होच्याउने मधेश विरोधी विष वमन गर्ने नेकपा एमालेका नेता केपी शर्मा ओली फाल्गुन २३ गते सप्तरी आउन लागेकोले त्यसलाई लक्षित गर्दै मोर्चाले प्रदर्शन गर्न लागेको हो । फागुन १९ गतेदेखि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले घोषणा गरेको भण्डाफोर अभिायनको प्रचार प्रसार गर्ने र तत्कालीन ओली नेतृत्वको सरकारले मधेशमा गरेका नरसंहार गरेको स्मरण गर्दै कार्यक्रमलाई सशक्त रुपमा अगाडि बढाउने संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सप्तरीका संयोजक दिनेश कुमार यादवद्वारा बुधवार जारी प्रेस विज्ञप्तिमा जनाईएको छ ।
फाल्गुन १९ गतेदेखि सम्पुर्ण सप्तरीवासीले विरोध स्वरुप आ–आफनो घर तथा सवारी साधनहरुमा कालो झण्डा बाँधेर विरोध प्रदर्शन गर्ने, फाल्गुन १९ गतेदेखि विभिन्न गा.वि.स. तथा प्रमुख हटिया वजारहरुमा कोण सभा सञ्चालन गरी भण्डाफोर अभियान सञ्चालन गर्ने, फाल्गुन २२ गते सप्तरीको प्रमुख स्थान कञ्चनपुर, भारदह, हनुमाननगर, राजविराज, सखडा, पत्थरगडा, पातो, रुपनी, कठौना, विष्णुपुर र वोदे वर्साईन सहितको स्थानहरुमा मसाल जुलुस प्रदर्शन गर्ने निर्णय गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
फाल्गुन २३ गते सप्तरीमा चक्का जाम गर्ने, फाल्गुन २३ गते कञ्चनपुर, भारदह, राजविराज र रुपनीमा विहानैदेखि लाठी जुलुस प्रदर्शन गर्ने, तत्कालीन के.पी शर्मा ओली नेतृत्वको सरकारले मधेशमा गरेका नरसंहार तथा सप्तरीका आधा दर्जन सपुतहरुको विभत्स हत्या गरेको फोटो तथा विभत्स हत्याका ठाउँठाउँमा फोटो सहितको व्यानर झुण्डयाउने, उपरोक्त कार्यक्रमहरुका अतिरिक्त स्थानीय स्तरिय मोर्चा वा मोर्चाका घटक दलहरुले आवश्यकता
अनुसार निर्णय गरी आन्दोलनका अन्य कार्यक्रमहरु सञ्चालन गर्न सकिने संयोजक यादवद्वारा प्रेषित विज्ञप्तिमा जनाईएको छ ।
सरकारले मुलुकमा कृत्रिम अभाव सिर्जना गरी सरकारी संरक्षणमा कालोबजारी र माफियातन्त्रलाई प्रोत्साहित गरी मुलुकको अर्थतन्त्रलाई कालो बजारिकरण गर्ने कार्यहरुको मोर्चा घोर विरोध एवं भत्र्सना गर्दै अविलम्व पेटोलियम पदार्थको सहज आपुर्ति गरी कालावजारी रोक्न समेत मोर्चाले माग गरेको छ ।