राजविराज, १८ फागुन । सप्तरी सदरमुकाम राजविराज–९ स्थित पिस जोन बोर्डिङ्ग स्कूल अगाडि बम फेला परेको भोलीपल्टै बुधवार राजविराज–५ स्थित लक्ष्मी ईङ्गलिस बोर्डिङ्ग स्कूलको परिसरभित्रै पुनः अर्को बम फेला परेको छ ।
विहान आठ बजेतिर विद्यालयका कर्मचारीहरुले मूल गेट खोल्नासाथ शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । बम भएको पुष्टि भएपछि सो क्षेत्रलाई नियन्त्रणमा लिई नेपाली सेनाको श्रीकृष्ण दल गणका प्राविधिक टोलीले चार घण्टाको प्रयास पछि उक्त सकेट बम निष्क्रिय बनाएको छ ।
तराई मधेशमा सशस्त्र संघर्ष गरिरहेका जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा क्रान्तिकारीले उक्त ठाउँमा बम राखेको जिम्मा लिएको छ । मोर्चा संयोजक गोइतद्वारा जारी विज्ञप्तिमा मोर्चाले गत मंसिर २३ गते आह्वान गरेको तराई बन्दको आह्वानलाई अवज्ञा गरी विद्यालय सञ्चालन गरेको भन्दै चेतावनी स्वरुप सो कार्वाही गरिएको उल्लेख छ ।
अघिल्लो दिन मङ्गलवार पनि राजविराज–९ स्थित पिस जोन बोर्डिङ्ग स्कूल अगाडि मोर्चाद्वारा पर्चासहित राखिएको सकेट सेनाको प्राविधिक टोलीले निष्क्रिय बनाएको थियो । यस्तै मोर्चाका कार्यकर्ताले गत मंसिर १२ गते जिल्ला प्रशासन कार्यालय तथा माघ ७ गते राजविराज–१ स्थित फुसराज दुगडको घर अगाडि पनि सकेट बम राखेका थिए । यसरी विद्यालय, सरकारी कार्यालय तथा विभिन्न प्रतिष्ठान नजिकै एक पछि अर्को बम फेला पर्न थालेपछि विद्यार्थी, अभिभावक, व्यवसायी र सर्वसाधारणमा त्रास फैलिएको छ ।
यसैबीच प्याब्सनका केन्द्रीय उपाध्यक्ष अनिल झा, जिल्ला अध्यक्ष पञ्चदेव यादव र सचिव सञ्जय शर्माले मङ्गलवारै संयुक्त प्रेस विज्ञप्तिमार्फत स्कूल अगाडि बम राखिएको कार्यको भत्र्सना गरेको छ । विद्यालयलाई शान्ति क्षेत्रको रुपमा सबैपक्षले स्वीकार गरे पनि बम राख्नु कायरतापूर्ण कार्य भएको भन्दै प्रेस विज्ञप्तिमा भनिएको छ ‘डर, त्रास, भय र आतंकबाट आजसम्म कसैले केही प्राप्त गर्न सकेको छैन, भविष्यमा यस्ता काम कार्वाही नगर्न नगराउन आग्रह समेत गर्दछौं ।’
