राजविराज, १४ फागुन । नेकपा एमालेका स्थायी समिति सदस्य सत्यनारायण मण्डलले झुठा प्रचार गरेर नेपाली जनताको एकता कमजोर पार्ने षडयन्त्र विरुद्ध पार्टीले मेची–महाकाली अभियान सञ्चालन गर्न लागेको बताएका छन् ।
अभियानको तयारीका लागि कञ्चनरुपमा शनिबार आयोजित भेलालाई सम्बोधन गर्दै उनले यस्तो कुरा बताएका हुन् । मण्डलले भेलाले बसन्त मिश्रको संयोजकत्वमा ४५ सदस्यीय आवास तथा भोजन व्यवस्थापन समिति गठन गरेको छ । भेलालाई सम्बोधन गर्दै पोलिटब्युरो सदस्य नागेन्द्र चौधरी, केन्द्रीय सदस्य सुमनराज प्याकुरेल र जिल्ला अध्यक्ष गोबिन्द न्यौपानेलगायतकाले आवश्यक तयारीका लागि निर्देशन दिएका छन् ।
यसैगरी पकरीमा शनिबार नै आयोजित क्षेत्रीय भेलाले अभियानको लागि योजना छनौट गर्दै घरदैलो कार्यक्रम गर्ने निर्णय गरेको छ । अभियानको स्वागतकालागि उक्त क्षेत्रबाट पाँच हजार जनताको सहभागिता जुटाउने तयारीमा रहेको एमाले नेता शैलेन्द्रचन्द्र झाले बताए ।
भेलामा स्थायी कमिटि सदस्य मण्डल, जिल्ला अध्यक्ष न्यौपाने, उपसचिव प्रतापनारायण चौधरी, जिल्ला सदस्यहरु निरन्जन झा र अखिलेश झालगायतको उपस्थिती रहेको थियो । यसैगरी शनिबार राजविराज वडा नं. १० को भेला समेत सम्पन्न भएको छ । वडा कमिटीका अध्यक्ष जैनुल मियाँको अध्यक्षतामा सम्पन्न वडा भेलामा जिल्ला अध्यक्ष न्यौपाने, पूर्व सचिव दिवाकर देवकोटा, उपसचिव चौधरी, जिल्ला सदस्यहरु सलिम मियाँ, निरन्जन झा र अखिलेश झाको सहभागिता रहेको थियो ।
नेकपा एमालेले आगामी फागुन २१ गतेदेखि सुखानीका शहिद दिवसका अवसरमा ‘राष्ट्रिय एकता, समृद्धि र स्वाभिमान तथा संविधान कार्यान्वयनका लागि दुई हप्ते मेची महाकाली राष्ट्रिय अभियान सञ्चालन गर्दैछ । झापाबाट शुभारम्भ हुने अभियान फागुन २३ गते सप्तरी हुँदै विभिन्न जिल्लामा ¥याली, सभा र रचनात्मक कार्यक्रम गरे पश्चात चैत ५ गते सुर्खेतमा जनसभा गरी सम्पन्न हुनेछ ।
राष्ट्रियता, लोकतन्त्र, सामाजिक न्याय, राष्ट्रिय एकता र समृद्धिकालागि गर्न लागिएको अभियानले विभिन्न दलहरुले फैलाएको भ्रम चिर्ने एमालेको विश्वास छ । राष्ट्रिय एकता र अखण्डतामा आँच आउने क्रियाकलाप रोक्न एमालेले मेची महाकाली राष्ट्रिय अभियान सञ्चालन गर्न लागेको जनाएको छ ।