बोधराज सुवेदी/महुली फागुन १३ गते । नेपाल प्रहरीका नायव महानिरीक्षक तथा पूर्व क्षेत्रिय प्रमुख केशरीराज घिमिरेले प्रहरीले सदैव जनताको साथी भएर काम गर्नु पर्ने बताएका छन् ।
ईलाका प्रहरी कार्यालय महुलीको नव निर्मित भवनको सुक्रवार एक समारोहका बीच उद्घाटन गर्दै उनले यस्तो कुरा वताएका हुन् । ईलाका प्रहरी महुलीको प्राङ्गणमा आयोजित कार्यक्रमका प्रमुख अतिथि घिमिरेले जनताले महशुस गर्ने गरी शान्ति सुरक्षाको वहाली भएमा र उनीहरु रातमा आनन्दले निदाउन सके मात्र प्रहरीले काम गरेको ठहर्ने बताए ।
मुस्कान सहितको प्रहरी भन्ने नारालाई समेत ब्यवहारमा उतार्नुपर्नेमा जोड दिंदै घिमिरेले जनताको न्यानो माया पाएको खण्डमा प्रहरी संगठनले आफ्नो कर्तब्य पुरा गर्न कुनै कसर वाँकी नराख्ने प्रतिवद्धता समेत ब्यक्त गरे । उनले भने– ‘नयाँ भवनको भौतिक सुविधाले मात्र प्रहरी सेवाको मापन गर्न नसकिने भएकाले जनताको हीत रक्षामा सर्मपित हुन सकेमा मात्र सच्चा राष्ट्रसेवा र जनसेवा हुनेछ । ’
कार्यक्रममा पूर्व युवा तथा खेलकुद मन्त्री तथा सांसद सत्यनारायण मण्डलले देशमा राजनैतिक हस्तक्षेपको कारणले गर्दा प्रहरी संगठनले प्रभावकारी रुपमा काम गर्न नसकेको बताए । उनले कानूनी राज्यको साँचो अर्थमा अभ्यास गर्ने हो भने सुरक्षा अंगहरुलाई राजनीतिवाट मुक्त राख्नु पर्ने आवश्यकता औंल्याए । कार्यक्रममा सप्तरी क्षेत्र नम्वर–१ निर्वाचित सांसद मानपुर चौधरीले ईलाका प्रहरी कार्यालय महुलीको स्तरोन्नति गर्दै मुद्दा दर्ताको ब्यवस्था हुने गरी इन्स्पेक्टरको दरबन्दी राख्नुपर्नेमा जोड दिए ।
नेपाल सरकार शान्ति तथा पुनःनिर्माण मञ्त्रालय शान्ति कोषको सहयोगमा प्रहरी ईकाइ पुनःनिर्माण आयोजनाको फेज–१ अन्तरगत कूल एक करोड ४६ लाख ७७ हजार छ सय ४९ रुपैंया एक पैसाको लागतमा निर्मित सो भवनमा अपराध अनुसन्धान शाखा, गार्ड ब्यारेक, महिला पुरुषको छुट्टा छुट्टै हिरासत कक्ष, सञ्चार शाखा लगायत विभिन्न १३ वटा कक्षहरु रहेका छन् ।
माओवादी द्धन्दकालमा २०६० साल चैत्र २४ गते क्षतिग्रत सो प्रहरी भवनको २०७१ फागुन एक गते पुुनःनिर्माण संझौता भएको थियो। ईप्रका महुलीको कार्यालय परिसरमा जम्मा दुई कठ्ठा साडे एक धुर जग्गा रहेको छ । भवन निर्माण समितिका संयोजक श्रीप्रसाद यादवको अध्यक्षतामा आयोजित सो कार्यक्रममा भवन निर्माणमा सहयोग पुर्याउनुु हुने विभिन्न महानुभावहरुलाई प्रशंसा पत्र प्रदान गरियो ।
सप्तरीका प्रहरी नायव उपरीक्षक दानवहादुर कार्कीद्वारा सञ्चालित उक्त कार्यक्रममा पूर्व क्षेत्रिय टियसटी प्रमुख प्रहरी नायव उपरीक्षक ईश्वर थापाले भवन निर्माण प्रतिवेदन प्रस्तुत गरे भने प्रहरी वरिष्ठ उपरीक्षक तथा सगरमाथा प्रमुख वलराम शर्मा पौडेलले स्वागत मन्तब्य व्यक्त गरे ।