लहान, ७ फागुन । सिरहाको लहान ईलाका प्रहरी कार्यालयमा १६ दिनदेखि थुनामा राखिएका डा. सी. के. राउतसहित समर्थकलाई प्रहरीले अमानवीय व्यवहार गरिरहेको स्वतन्त्र मधेश गठबन्धनले जनाएको छ ।
गठबन्धनका सह–संयोजक कैलाश महतोले आइतवार प्रेस विज्ञप्ति जारी गर्दै यस्तो रहस्य सार्वजनिक गरेका हुन् । ‘तिर्खाले डेढ़ घण्टासम्म छटपटिएर ढोका बाहिर राखिएको पानी माँग्दा समेत प्रहरी प्रशासनले पानी नदिई गालीगलौज गरेको छ’ प्रेस विज्ञप्तिमा भनिएको छ ‘औषधी खानु छ, पानी दिनुस भनेर पटक पटक अनुरोध गर्दा पनि पानी न दिएको र अब खाना पनि आउन नदिने भनी धम्काएको छ्र ।’ डीएसपि. राजकुमार केसीसँग अनुमति नभई पानी खान समेत नदिने, कसेलाई भेट्न पनि नदिने, खाने भए ट्वाईलेटको पानी खा भनेर गली गलोज गर्ने गरेको प्रेस विज्ञप्ति जनाईएको छ ।
यस्ता अमानवीय, गैरकानूनी, गैरन्यायिक र गैरलोकतान्त्रिक हर्कतहरू प्रति स्वतन्त्र मधेश गठबन्धनले घोर आपत्ति जनाउँदै भत्र्सना गरेको छ । उक्त विषयमा देश–विदेशमा क्रियाशील पत्रकार, कुटनितिज्ञ, राजनैतिक दल, वुद्धिजीवि, अधिकारकर्मी लगायत सरोकारवाला सबैमा जानकारी गराउँदै यस्ता क्रियाकलापलाई निरूत्साहित गर्न तथा मानव अधिकारको पूर्ण रक्षाका निम्ति पहल गरिदिन गठबन्धनका सह–संयोजक महतोले आग्रह गरेका छन् ।