रवि शर्मा
राजविराज, ८ फागुन । कला क्षेत्रमा निरन्तर संघर्षरत सप्तरीको डिमन–७ निवासी निराजन मेहता सफलताको सिंढी उक्लिन थालेका छन् ।
युवा निर्देशकको रुपमा परिचय पाउँदै गएका मेहता विगत डेढ दशकदेखि निरन्तर कला क्षेत्रमा संघर्षरत छन् । प्लस टु सम्मको अध्यन पुरा गरेपछि २०५८ सालमा सडक नाटकबाट ओैपचारिक रुपमा उनी कलाकारितामा प्रवेश गरेका हुन् । तत्पश्चात मैथिली भाषाको टेलिसिरियल ‘रवि ब्रत’ कथामा काम गरे तर कारणवश उक्त सिरियलको काम अगाडि बढ्न सकेन ।
२०६२ सालमा चलचित्र क्षेत्रमा प्रवेश गरेका मेहता भारतको सागर जित राय र सतियर्थ सिन्हा सँग ‘ड्रइभर बाबु’मा सहायक भएर काम गरे । करिब ४ वर्ष मुम्बई बसाइको क्रममा विभिन्न निर्माता, निर्देशक तथा कलाकारहरुसँग घुलमिल हुने र सिक्ने मोैका पाए ।
२०६५ सालमा जन्मथलो फर्केपछि भिडियो फिल्म ‘अन्धोपन’ निर्माण गरे र २०६६ मा भोजपुरी भाषाको फिल्म ‘हम दिवाना है तोहार’मा मुख्य अभिनेता तथा निर्देशन पनि गरेका छन् । तत्पश्चात मधुमाला, डि.एप्पल, तिमी विना मलाई जिउनु छैन, लगायतका फिल्महरुमा सफलतापूर्वक निर्देशन गरिसकेका छन् ।
शुक्रवारदेखि सप्तरी सदरमुकाम राजविराजमा मधेशको पहिलो राजनिजिक फिल्म ‘मधेशी पुत्र’ प्रदर्शनमा रहेको छ । उक्त फिल्मको लेखन तथा निर्देशन मेहताले नै गरेका छन् ।